लापर्बाही रोक्न वडा सिल

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ २६
अहिले जिल्लाभर निषेधाज्ञा जारी छ । तर पनि मानिसको चहलपहल तथा लापर्बाही नरोकिएपछि कोरोना संक्रमण रोकिनुको विपरित फैलिदो छ । यसरी संक्रमणले ‘सीमा पार’ गर्न लागेपछि निषेधाज्ञाले मात्र नहुनेभन्दै गाउँबस्ती नै सिल गर्न थालिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले गाउँबस्तीमा महामारी रोक्न सिल गर्नुपर्छ भन्ने मानसिकता स्थापना गर्न थालेका छन् । गौरीशंकर गाउँपालिकाको वडा नं. ८ खारे १ साता सम्मको लागि सिल भएको छ । गाउँगाउँमा कोरोना प्रभावित बिरामी रहेको सन्दर्भमा अन्य स्वस्थ व्यक्तिमा संक्रमण प्रसार नहोस् भन्दै पालिकाको निर्णयानुसार सिल गरिएको हो । वडाध्यक्ष उदय बहादुर खड्काका अनुसार मंगलबारदेखि लागू हुने गरि ३१ जेठसम्मको लागि वडामा सम्पूर्ण गतिविधिमा प्रतिबन्ध हुने गरि सिल गरिएको छ । सिल गरिएको क्षेत्रभित्र अत्यवाश्यक बाहेकका सम्पूर्ण सवारी साधन सञ्चालन गर्न, एक टोलबाट अर्काे टोलमा जान, चियापसल, होटल लगायतका व्यापारव्यवसाय पूर्ण बन्द गराउनुका साथै जमघट तथा भिडभाड हुने मानविय क्रियाकलापमा रोक लगाइएको छ । वडाध्यक्ष खड्काले भने ‘उच्च सावधानी अपनाउन अनुरोध गरेतापनि वडामा लापर्बाही रोकिएन । जसले गर्दा घरघरमा संक्रमित फेला पर्न थालेका छन् । थप मानिसमा संक्रमणले आक्रमण नगरोस् भनि वडा सिल गरिएको हो ।’ कोरोना संक्रमण भिडभाड र सावधानी नपनाउँदा मानिसमा प्रवेश गरी अस्वस्थ बनाउँछ । उपचार नपाएमा कतिपयले ज्यानै गुमाउने परिस्थिति बन्न सक्दछ । नागरिकको ज्यान बच्छ भने जस्तो सूकै उपाय अपनाउन सक्नपर्छ । वडा सिल गर्दा जनजीवन सकसपूर्ण बन्छ । तर केही समयका लागि धैर्य गनुपर्ने वडाध्यक्ष खड्काको सन्देश रहेको छ । वडामा मंगलबारसम्मको आंकडाअनुसार २१ जना कोरोनाका बिरामी रहेका छन् । ति सबै होम आइसोलेसनमा सुरक्षित बसेका पालिकाका स्वास्थ्य संयोजक वसन्तराज रेग्मीले जानकारी दिए ।
तस्बिर ः उद्धब विश्वकर्मा

Shares

Be the first to comment on "लापर्बाही रोक्न वडा सिल"

Leave a comment

Your email address will not be published.


*