लप्चीबाट तिब्बत जाने दुई नाका खोलिए पनि स्थानीयलाई भएन राहत

चरिकोट(दीस)ः चीन सरकारले तिब्बतसँग सीमा जोडिएको दोलखाको दुईवटा नाका खोले पनि लप्चीवासिलाई भने राहत नपुगेको स्थानीयहरुले गुनासो गरेका छन् । हाल खोलीएको एउटा नाकासम्म पुग्न लप्चीबाट दुई तिन दिन लाग्ने तथा अर्को नाका कहाँ पर्छ आफूहरुलाई समेत जानकारी नभएको स्थानीयहरुको भनाई रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दहालको चीन भ्रमणका क्रममा चीन सरकारले देशभरीका १४ ओटा नाका खुलाउँदा तिब्बतसँग सीमा जोडिएको दोलखाबाट चीन जोडिने दुईवटा नाका रोङसीया नाका र क्वादम नाका खुला गरिदिएको थियो । लप्चीबाट रोङ्सीया नाका पुग्न २–३ दिन लाग्ने र क्वादम नाकाबारेमा आफूहरुलाई पूर्ण रुपमा जानकारीसमेत नरहेको लप्चीवासीको भनाई छ । विगु गाउँपालिका वडा नम्बर एक मा पर्ने लप्चीका स्थानीयको लागि तिब्बतको न्यालम डिस्ट्रिकमा पर्ने रामदिङ पास हुँदै जाने नाका खोलिनुपर्ने स्थानीयहरुलेविगत लामो समयदेखि माग गर्दै आएका थिए । तिब्बतसँग लप्चीवासीले ब्यापार गर्ने सीमानाका कोरोनाकहर पछि बन्द छ । नाका बन्द रहँदा स्थानीयलाई आवश्यक सामग्री खरिद गर्न तथा उनीहरुले उत्पादन गरेका पशुजन्य उत्पादन विक्री गर्न ठूलो समस्या परिरहेको छ ।प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार लप्चीका स्थानीयको सहजताको लागि खुला हुनु पर्ने रामदि«ङ भने खुला हुन नसकेको बताउनु भयो । अहिले खुला गरिएको नाकाबाट लप्चीका स्थानीयले आउन जान ४ ÷५ दिन लाग्ने भएकाले यसले स्थानीयलाई सहजता नहुने उहाँको भनाई रहेको छ ।
कुल ४६ घरधुरी रहेको लप्चीमा करिब एक सय ५० जनसंख्या रहेको छ । लप्चीका स्थानीयहरुको पेशा नै पशुपालन हो । उनीहरु चौरी तथा घोडा पालन गर्दछन् । चौरी, चौरीका बाच्छा, ध्यू , छुर्पीज लगायतका कुराहरु उनीहरु चीन तर्फ लगेर बेच्छन् भने खाद्यान्न लत्ता कपडा लगायतका उपभोग्य समाग्री चीनबाट ल्याउँछन् । लामो समयदेखि नाका बन्द हुँदा आफूहरुले चौंरिका बाच्छा लगायतका कुरा बेच्न नपाएको उनीहरुको भनाई छ । यतिमात्र होइन चौरी चराउने धेरै खर्क समेत चीनतर्फ पर्ने भएकोले नाका नखुल्दा उनीहरु ठूलो समस्यामा परेका छन् । चीन सरकारले दोलखाको दुईवटा नाका खोलिदिएको भने पनि त्यो लप्चीबासिको लागि अनुकूल नरहेको र त्यसले उनीहरूको माग सम्बोधन लप्चीलाई नजिक बाट बुझेका दोलखाका जानकरहरुको भनाई रहको छ । नाका खोल्न पहल गरिदिन लप्चीवासी पटक पटक जिल्ला प्रशासन कार्यालय दोलखामा भन्न आउने गरेका छन् ।लप्चीवासिको लागि व्यापार व्यवसाय सहज गर्न सिमा पिलर ५५ र ५६ को बीचमा पर्ने रामदिङ पास नाका खुला गरिनु पर्ने स्थानीयहरुको माग रहेको छ ।

Shares

Be the first to comment on "लप्चीबाट तिब्बत जाने दुई नाका खोलिए पनि स्थानीयलाई भएन राहत"

Leave a comment

Your email address will not be published.


*