राहत पाएपछि शैलुङमा खुशी

 

 

 

इश्वर बिश्वकर्मा

२४ वैशाख, चरिकोट
शैलुङ गाउँपालिकाका रामजी गिरी पालिकाबाट चामल, दाल, चिनी र साबुन पाएपछि खुशी भएका छन् । लकडाउनको कारण भोकै रहने स्थिति आएको बेला पालिकाले राहत दिएपछि उनको मुस्कान फर्किएको छ ।
उनले भने,“लकडाउनको कारण रोगले भन्दा नि भोकले मरिएला कि भन्ने डर थियो । राहत पाएपछि त ढुक्क भइयो । अहिले गाउँमा सिंहदरबार आएको महशुस भएको छ । “
गिरी मात्र होइन राहत पाएपछि शैलुङका १ सय ३९ विपन्न परिवार खुशी भएका छन । दैनिक मजदूरी गरेर गुजारा चलाउँदै आएका तथा विपन्न परिवारले लक डाउन यता भोक टार्न मुस्किल परेको बताउँदै आएका थिए । त्यस्ता परिवारलाई पालिकाले केहि दिनदेखि राहत स्वरुप खाद्यान्न वितरण गरिरहेको पालिकाका अध्यक्ष भरत प्रसाद दुलाले बताए । बन्दाबन्दीका कारण दैनिक चुल्हो बाल्न नसक्नेहरुका लागि मापदण्ड अनुसार वडागत रूपमा तथ्यांक संकलन गरेपछि वडाबाटै राहत वितरण गरिएको उनले बताए । मंगलबारसम्ममा वडा नं. १ मा १४, २ मा ३२, ३ मा ४५, ४ मा १४, ५ मा २, ६ मा १५, ७ मा १७ परिवारले राहत पाइसकेका छन् । प्रतिपरिवार ३० किलो चामल, ३ किलो दाल, २ लिटर खाने तेल, ४ वटा साबुन राहतमा वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा संयोजक बिष्णु कार्कीले बताए । राहत वितरणमा विभिन्न संघ संस्था र सहयोगी व्यक्तिहरुले समेत सहयोग गरेका छन् । शैलुङ गाउँपालिकाले राहत वितरण गरिरहेको बेला जिल्लाका अन्य स्थानीय तहले भने अहिले नै राहत वितरण गर्नुपर्ने अवस्था नरहेको र आवश्यकता परेको खण्डमा तत्काल वितरण गरिने जनाएको छ । कोरोना विरुद्ध जारी लकडाउनले घर बाहिर निस्कन नपाएका श्रमिक, मजदुर र विपन्न परिवारको नाम टिपेर पनि राहत वितरण नगर्दा त्यस्ता परिवार चिन्तित भएका छन् ।

Shares

Be the first to comment on "राहत पाएपछि शैलुङमा खुशी"

Leave a comment

Your email address will not be published.


*