राजपरिवार छाडेका ह्यारी–मेगानलाई कहाँबाट आउछ पैसा ?

बीबीसी । राजकुमार ह्यारीले हालैको एक अन्तर्वार्तामा राजदरबार छाडेपछि परिवारले आफूलाई आर्थिक सहयोगमा पूर्ण कटौति गरिदिएको बताएका थिए । उनको यस्तो खुलासापछि अमेरिकामा ह्यारी मेगानको बसाइ कुन आम्दानीबाट चलिरहेको छ भन्नेबारे चर्चा चलिरहेको छ ।ह्यारी र उनकी पत्नी मेगानले २०२० को जनवरीमा आफूहरुले राजपरिवारको सदस्यका रुपमा काम गर्न बन्द गर्ने घोषणा गरेका थिए र आर्थिकरुपमा पनि स्वतन्त्र हुनेतर्फ काम गर्ने बताएका थिए । यही नयाँ सम्झौता अन्तर्गत केही समयका लागि ह्यारीका पिताले उनीहरुलाई भुक्तानी गर्ने भनिएको थियो तर सो पैसा कहाँबाट आउछ, चार्ल्सको व्यक्तिगत सम्पत्ति या राजपरिवारको कोषबाट भन्ने चाहिँ स्पष्ट छैन ।ह्यारीका पिता चार्ल्सको अकाउन्टमा २०२० को मार्चसम्म राजपरिवारका दुईवटै जोडी : हयारी–मेगान र विलियम–केटका लागि ५६ लाख पाउन्ड खर्च भएको देख्न सकिन्छ । तर राजकुमार ह्यारीले चर्चित टेलिभिजन प्रस्तोता अपराहसँग दिएको हालैको अन्तर्वार्तामा त्यसपछि राजपरिवारले आफूलाई पूर्ण रुपमा आर्थिक सहयोग गर्न छाडेको बताएका छन् । यसमा राजकुमार चार्ल्सको अकाउन्टको अहिलेको डाटाबारे कुनै खुलासा भएको छैन भने उनको निजी अफिसले पनि यसमा कुनै प्रतिक्रिया नजनाउने बताएको छ ।

कति धनी छन् ह्यारी र मेगान ?

राजकुमार ह्यारी र मेगान दुवैसँग उल्लेखनीय व्यक्तिगत सम्पति छ । ह्यारी र उनका दाजु विलियमले स्वर्गीय आमा, राजकुमारी डायनाबाट १ करोड ३० लाख पाउन्ड बराबरको सम्पति प्राप्त गरेका थिए । र अपराहसँगको कुराकानीमा ह्यारीले आफूसँग आमाले छाडेर गएको सम्पतिबाहेक केही नभएको र सो रकमबिना आफूहरुले त्यति ठूलो कदम उठाउन नसक्ने बताए । त्यस्तै ह्यारीलाई उनकी पुर्ख्यौली हजुरआमाले पनि लाखौँ पाउन्ड छाडेर गएको बीबीसीका रोयल संवाददाता निक विचवेल बताउँछन् ।
उता मेगानले चाहिँ आफू अभिनेत्री हुँदाको समयमा टेलिभिजन कार्यक्रम, ‘सुट्स’ का लागि प्रति एपिसोड ५० हजार पाउन्ड लिने गरेकी थिइन् भने उनको आफ्नै लाइफस्टाइल ब्लग पनि थियो । यसका साथै क्यानेडियन ब्रान्डका लागि फेशन लाइन पनि उनी आफैँले डिजाइन गर्ने गर्थिन् ।

अन्य आम्दानीका स्रोतहरु केके छन् ?

राजपरिवारका सक्रिय सदस्य नभएको हुँदा ह्यारी र मेगानले स्वतन्त्र रुपमा आयआर्जन गर्न पाउँछन् । उनीहरुलाई हालै सार्वजनिक अन्तर्वार्ताका लागि कुनै भुक्तानी गरिएको थिएन तर ‘नेट्फ्लिक्स’ र ‘स्पोटिफाइ’ जस्ता स्ट्रिमिङ सेवाका लागि भने उनीहरुले विभिन्न सम्झौता गरिसकेको खबरमा आएको छ । ती परियोजना लाखौँ डलर बराबरको हुन सक्ने अनुमान गरिएको छ ।
उनीहरुको सुरक्षाको खर्च कसले गर्छ ?

ह्यारी–मेगान बेलायतमा बस्दा उनीहरुलाई महानगर पुलिसले सुरक्षा दिइरहेको थियो जसको लागतबारे खुलासा गरिएको छैन । यसपछि क्यानडाको सरकारले उनीहरुलाई सुरक्षा नदिने घोषणा गरेपछि ह्यारी र मेगान अमेरिका बसाइ सरेका हुन् । उनीहरुले गरेको खुलासाअनुसार लकडाउनका सुरुवाती महिनाहरुमा अमेरिकी अर्बपति एवम् मिडिया मोगुल टाइलर पेरीले उनीहरुलाई बस्नका लागि घर र सुरक्षा दिलाएका थिए । ‘पैसाको पछि लाग्ने’ भन्ने जस्ता आरोपहरुबारे अपराहले प्रश्न गर्दा ह्यारीले नेट्फ्लिक्स र स्पोटिफाइबारे आफूहरुले अगाडि योजना नबनाएको तर पछि गएर आवश्यक भएको बताएका हुन् । उनले भनेका छन्, “मलाई केबल आफ्नो परिवारलाई सुरक्षित राख्नका लागि पर्याप्त पैसा चाहिएको थियो । ”

राजपरिवारको सदस्यमा हुँदा कहाँबाट हुन्थ्यो खर्च ?

राजपरिवारबाट बाहिरिनु अगाडि यस जोडीको ९५ प्रतिशत आम्दानी राजकुमार चार्ल्सको ‘डची अफ कर्नवाल’ बाट प्राप्त आयबाट हुने गर्दथ्यो । २०१८–१९ मा ह्यारी–मेगान अनि विलियम–केटले सार्वजनिक जिम्मेवारीहरु निभाएवापत् र अन्य व्यक्तिगत कारणवश ५० लाख पाउन्ड भन्दा केही बढी खर्च भएको तथ्यांक छ । त्यसबाहेक करदाताहरुको सार्वभौमिक अनुदानबाट पनि उनीहरुले ५ प्रतिशत आम्दानी गर्ने गरेका थिए ।सो अनुदान बेलायती सरकारले राजपरिवारलाई दिने गर्दछ जसमार्फत राजपरिवारका सदस्यले आधिकारिक जिम्मेवारी पूरा गर्छन् र दरबारको ख्याल राख्छन् । यो वित्तीय वर्षमा सो रकम ८ करोड ५९ लाख पाउन्ड रहेको थियो । यसअघि सेप्टेम्बरमा ह्यारी र मेगानले विन्डसोर स्थित ‘फ्रगमोर कटेज’ को आफ्नो घर मर्मतमा खर्च भएको २४ लाख पाउन्ड फिर्ता गरिसकेको बताएका थिए जुन पहिले बेलायती करदाताहरुबाट आएको रकम थियो । बीबीसीबाट

Shares

Be the first to comment on "राजपरिवार छाडेका ह्यारी–मेगानलाई कहाँबाट आउछ पैसा ?"

Leave a comment

Your email address will not be published.


*