युवामा बढ्दो विदेश “मोह”

ईश्वर विश्वकर्मा
चरिकोट, भदौ १७
नेपालमा रोजगारी नपाएपछि अधिकांश युवा विदेशिन बाध्य छन् । जन्मे, हुर्केको ठाउँ र परिवारबाट टाढिएर सात समुद्र पारीको देश होमिने बढ्दै छन् । युवा जोशजाँगर, शक्ति र श्रम पराई देशमा खर्च भइरहेका छन् ।

धेरै जसो युवा रोजगारीको अवसर, सम्भावना र विकल्प नपाएपछि विदेशको बाटो खोज्छन्, भने न्यून आयस्रोत, बेरोजगार र भोकले पिरोलिएकाहरु बाध्यताले विदेश रोज्छन् । कतिपय चाहिँ स्वदेशमा असफल भएपछि विदेशमा राम्रो कमाई हुने भन्दै अरुको लहैलहै, देखासिकी र रहरले समेतले विदेश जाने गरेको पाइन्छ ।

राहदानी बनाएर विदेश उड्ने प्रक्रिया र सपना साकार पार्न राहदानी विभाग र प्रशासनमा ठूलो सङ्ख्यामा युवाहरूको लर्को लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाको राहदानी शाखामा सेवाग्राही नभएको दिन हुँदैन । दिनहुँ ठूलो सङ्ख्याका युवाहरू राहदानीका लागि सिफारिस लिन सो शाखा अगाडि लामबद्ध हुने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत, सूचना अधिकारी औलाखबहादुर आलेले राहदानीका लागि सिफारिस लिनेहरूको संख्या बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार दैनिक १० देखि २० जना सम्मले राहदानीको सिफारिस लिने गरेका छन् । ती मध्ये धेरै जसो वैदेशिक रोजगारीमा जाने प्रयोजनमा राहदानीका लागि हुन्छन् ।

कार्यालयले सार्वजनिक गरेको गत वर्षको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा कुल आठ हजार ६३ जनाले राहदानीका लागि सिफारिस लिएका छन् । ३५ दिन भित्र लिने गरी साधारण राहदानीका लागि तीन हजार ७ सय २३ पुरुष र दुई हजार तीन सय ६१ महिला गरी छ हजार ८४ जनाले सिफारिस लिएका छन् । सात दिन भित्र लिने दु्रत राहदानीका लागि एक हजार ४२ जना पुरुष र नौ सय ३७ जना महिला गरी एक हजार ९ सय ७९ जनाले सिफारिस बनाएका छन् ।

सिफारिस शुल्कबापत दुई करोड ७१ लाख ३७ हजार ८ सय ४० रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला प्रशासनमा राजस्वको स्रोतहरूमध्ये सबैभन्दा बढी राजस्व संकलन हुने राहदानी सिफारिस नै हो । कोरोना महामारीमा स्वदेश फर्किने र विदेश जाने क्रम कम भएपनि अहिले भने कोरोनाको प्रभाव न्यून भएसँगै विदेश जाने र जान चाहनेहरु बढेका हुन् ।  
प्रशासन कार्यालयमा चालु आर्थिक वर्षको सुरुवात देखि नै सिफारिस बनाउनेको संख्या वृद्धि हुँदै गएको पाइएको छ । राहदानीको सिफारिस लिँदै गरेका युवाहरूमा विदेश जाने तीव्र आकांक्षा भेटिन्छ । उनीहरूलाई राहदानी र सुट्केस लिएर विदेश गन्तव्य बनाएर हवाईजहाजमा उड्ने सपना छ । उनीहरु आफ्ना उद्देश्य र सपना स्वदेशमा पूरा नभएको भन्दै विदेश पुग्न चाहन्छन् ।

भीमेश्वर नगरपालिका वडा नं. ५ का २७ वर्षीय रमेशकुमार बस्नेतले राम्रो जागिरको अवसर नपाएपछि विदेश जाने तयारी गरेको बताउनुभयो । उहाँले घरपरिवार, आफन्त र साथीभाईलाई छाड्ने रहर नभएपनि पैसाको लागि केही वर्ष टाढिनुपर्ने बाध्यता भएको सुनाउनुभयो । “यहाँ सोचे अनुसारको रोजगार पाउनै मुस्किल हुन्छ । रोजगार पाउनकै लागि सोर्सफोर्स लाउनुपर्छ । सोर्सफोर्स लगाएर कसैले रोजगारी पाएपनि पारिश्रमिक चित्त बुझ्दो हुँदैन । त्यसले जीवन धान्न मुस्किल हुन्छ ।” बस्नतेले भन्नुभयो, “त्यसैले हामी जस्ता युवाहरू राम्रो काम र दामका लागि विदेशिन बाध्य छौँ । विदेशमा राम्रो होला भन्ने आशा छ ।”

नेपालमै बसेर काम गरिरहेका पनि राम्रो आम्दानी लिने उद्देश्य पूरा नहुने भन्दै विदेश जाने सोच र सपना बुन्दै गरेको पाइन्छ । जिरीका सोभित बस्नेत विदेश जाने तयारीमा हुनुहुन्छ । खासमा ऋणको भार कम गराउन विदेश जान लागेको बताउने बस्नेत सवारी चालक हुनुहुन्छ । तर त्यसबाट ऋण तिर्न नसकिने भएपछि लेबनान जाने योजना बनाएको उहाँले बताउनुभयो । उहाँले राहदानी पनि बनाइसक्नुभएको छ । अब विदेश जाने प्रक्रिया थाल्ने उहाँ बताउनुहुन्छ ।

Shares

Be the first to comment on "युवामा बढ्दो विदेश “मोह”"

Leave a comment

Your email address will not be published.


*