युनिभर्सल पावरको सेयर भर्ने समय थपियो

दीक्षण समाचार
चरिकोट, ३० पुस
युनिभर्सल पावर कम्पनीले दोलखाबासीका लागि सेयर आवेदन दिने अवधि एक साता थप गरेको छ । कम्पनीले आइतबारदेखि आगामी माघ ६ गतेसम्मका लागि ७ दिनको समय थप गरेको हो । दोलखामा निर्माणधीन ११ मेगावाटको तल्लो खारेखोला जलविद्युत आयोजनामा सेयर लगानी गर्न सबै स्थानीय समेट्न गरी समय थप गरेको कम्पनीले जनाएको छ ।
पहिलो चरणको समयमा माग गरेजति आवेदन नपरेपछि समय थप गरेको हो । यसअघि गत पुस १५ गतेबाट खुलेको सेयर आवेदनको अवधि आइतबार सकिँदै थियो । शुक्रबारसम्म (१३ दिनमा) ९ सय ६३ स्थानीयले ९५ हजार ५ सय ५० कित्ता मात्र सेयर खरिद गर्न आवेदन दिएका छन् ।
दोलखाका गौरीशंकर, विगू र कालिञ्चोक गाउँपालिकाबासीका लागि छुट्याइएको २१ लाख ३ सय ५० कित्ता सेयर खरिद गर्न स्थानीयको उत्साहजनक सहभागिता जनाएको कम्पनीले जनाएको छ । तर शुक्रबारसम्म भने मागको जम्मा ५ प्रतिशत मात्र सेयर बिक्री भएको छ ।
प्रतिकित्ता सय रुपैयाँमा अंकित २१ करोड ३५ हजार रुपैयाँ मूल्यको सेयर न्युनतम ५० देखि अधिकतम ५ लाख कित्ता सम्मका लागि आवेदन दिन पाउने छन् । चरिकोटस्थित कृषि विकास, सिटिजन्स इन्टरनेसनल, महालक्ष्मी विकास, एनआइसी एसिया , सिद्धार्थ, सिन्धु विकास बैंकको चरिकोट, मुडे र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरीशंकर शाखालाई केन्द्र तोकिएको छ ।
कम्पनीले स्थानीयको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्याइएको ७५ करोड ६ लाख २६ हजार रुपैयाँ बराबरको ७५ लाख ६१ हजार २ सय ६० कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन गरि बाँँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिडेटले जिम्मेवारी लिएको छ । तर स्थानीयबाट प्रयाप्त आवेदन नपरेमा स्थानीयको बाँकी सेयर समेत जोडेर सर्वसाधारणलाई बिक्री गर्न सकिने व्यवस्था गरेको छ ।

Shares

Be the first to comment on "युनिभर्सल पावरको सेयर भर्ने समय थपियो"

Leave a comment

Your email address will not be published.


*