युनिभर्सलको सेयर आवेदनको आज अन्तिम दिन

दीक्षण समाचार
चरिकोट, २९ माघ
युनिभर्सल पावर कम्पनीको आईपीओ मंगलबार बन्द हुने भएको छ । युनिभर्सलले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्रीका लागि खुल्ला गरेको ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयरमध्ये आइतबारसम्म ३३ लाख ९ हजार कित्ता शेयर बिक्री भएको र मंगलबार पनि उल्लेख्य आवेदक रहेकोले २९ गतेभित्रै सबै शेयरका लागि आवेदन पर्नसक्ने सम्भावना रहेको कम्पनीले जनाएको हो ।
‘दुई दिनमा करिब ३८ प्रतिशत शेयर बिक्री भइसकेको छ, मंगलबार पनि आवेदकहरुको चाप उल्लेख्य छ, अन्तिम दिन आवेदकहरुको संख्या थप बढ्ने भएकोले मंगलबार नै शेयर निष्कासन बन्द हुन सक्छ ।’ (कम्पनी स्रोतले भन्यो । मंगलबारसम्म सबै शेयर बिक्री नभए फागुन २६ गतेसम्म समय थप गर्न सकिनेछ ।
उक्त शेयरका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आइतबारसम्मको आवेदन र आवेदक संख्या हेर्दा प्रतिआवेदक औसत ८८ कित्ताका लागि आवेदन दिएका छन् । दुई दिनको आवेदन संख्या हेर्दा यदि मंगलबार नै शेयर निष्कासन बन्द हुने हो भने आवेदकले आवेदन गरेकै मात्रामा कम्पनीको शेयर प्राप्त गर्नसक्ने सम्भावना छ ।

कस्तो छ युनिभर्सलको शेयर ?
युनिभर्सल पावरले दोलखा जिल्लाको खारे कोरिडोरमा ११ मे.वा. क्षमताको तल्लोखारे खोला जलविद्युत आयोजना बनाईरहेको छ । यसले ०७६ साउन देखि विद्युत्को व्यवसायिक उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त आयोजनामा हालसम्म कुनै पनि अवरोध नभएको र योजनाअनुरुप नै काम अघि बढिरहेको दाबी कम्पनीले गरेको छ । आयोजनामा बैंक अफ काठमाडौंको नेतृत्वमा सानिमा बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैंक र कैलाश विकास बैंकले संयुक्त रुपमा लगानी गरेको छ ।
आयोजनाको डिस्काउन्टेड पेब्याक अवधि नै १४ वर्ष रहेको उल्लेख गरिएको छ, यो यसअघि शेयर जारी भएका निजी क्षेत्रका विद्युत् परियोजनाको भन्दा राम्रो अवधि हो । यसअघि जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत् आयोजना लगायतका आयोजनाको पेब्याक अवधि २० वर्षभन्दा बढी अवधि थियो । युनिभर्सलको आर्थिक वर्ष २०७४र७५ को प्रतिशेयर नेटवर्थ ९९ रुपैंया १४ पैसा छ । त्यसैले, यसले ओपन रेञ्ज नै ९९.१४ देखि २९७.४२ रुपैंयासम्म पाउनेछ, यो भनेको अपर तामाकोशी आयोजनाको भन्दा राम्रो रेञ्ज हो ।

Shares

Be the first to comment on "युनिभर्सलको सेयर आवेदनको आज अन्तिम दिन"

Leave a comment

Your email address will not be published.


*