मेहन्दी र चुराले भरिए हातहरु

ईश्वर विश्वकर्मा
चरिकोट, साउन १७
साउन महिनाको मध्यमा चारैतिरको वातावरण हरियालीले सजिएको छ । यही पृष्ठभूमिमा महिलाहरू उत्साहित हुँदै हरिया, पहेँला र रातो रङका पहिरन र शृङ्गारले सजिएका छन् । धार्मिक तथा प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको साउनमा किशोरीदेखि वयस्क महिलामा बेग्लै किसिमको उमङ्ग, उत्साह र सुन्दरता देखिएको छ । वर्षा मौसम, हरियाली वातावरण हुने साउनमा लगाइने पहिरन र गरिने शृङ्गारमा महिलाहरूको आकर्षण बढेको पाइएको छ । अहिले किशोरी, युवायुवती र वयस्क महिलामा साउनमा गरिने शृङ्गारको प्रचलन प्रति भने रुचि बढेको हो । केही वर्ष अघि सम्म हिन्दु महिलाहरूले मात्र मान्दै आएको साउने संस्कृतिमा अन्य धर्ममा आस्था राख्ने महिलाहरू समेत लालयित भएको पाइन्छ । चरिकोट लगायतका बजारमा हरिया चुरा र मेहन्दी लगाएका महिलाहरू उत्साहित देखिन्छन्, भने चुरा र मेहन्दीको व्यापार फस्टाएपछि व्यापारीहरू मख्ख परेका छन् । चरिकोटमा शृङ्गारको सामाग्री व्यापार गर्दै आएका मन्जित गुप्ताले अन्य महिनाको तुलनामा साउन महिनामा चुरापोते, मेहन्दी लगायतका सामाग्रीको माग बढ्ने गरेको बताउनुभयो । अघिल्ला वर्षहरूमा कोरोनाको प्रभावका कारण साउनमा चहलपहल र उत्साह थिएन । तर यस पटक भने चहलपहल बढ्दा व्यापारमा समेत सुधार भएको उहाँले बताउनुभयो । उहाँले साउन महिनामा चुरा, मेहन्दी खपत बढ्ने हुँदा साउन अगावै सामाग्री मौज्दात राखेको सुनाउनुभयो । तिज नजिकिँदै गर्दा थप शृङ्गार सामाग्रीको माग र बिक्री बढ्ने उहाँको आशा छ ।
जुनसुकै व्यक्ति सुन्दर र आकर्षक देखिन चाहन्छ । त्यसैले पनि उसले इच्छाएको जुनसुकै समयमा स्वतन्त्रपूर्व जस्तोसुकै पहिरन र शृङ्गारको उपयोगले आफूलाई आकर्षक देखाउन सक्छ । तर अधिकांश हिन्दु धर्म सम्प्रदायका महिलाहरू हरिया चुरा र मेहन्दीको महिना साउनलाई मान्ने गरेको पाइन्छ । असारभर खेतीपातीमा व्यस्त भएका महिलाहरूका पौरखी र कर्मशील हातहरु हिलो र धुलोमा चलायमान भएका थिए । असारमा खेतीपाती सक्काएर अहिले फुर्सदमा रहेका महिलाहरू पहिरनमा सजिएका हुन् । असारमा मेलापातमा गएर कमाएकोमध्ये केही पैसा चुरापोते र मेहन्दीमा खर्च गरेका छन्, भने कतिपय विवाहित महिलालाई श्रीमानले प्रेम प्रकट गर्दै उपहार स्वरुप साउने पहिरन किनिदिएका छन् ।
ज्योतिष एवं संस्कृति प्रेमी नहकुल गजुरेलले साउनलाई हिन्दु धर्मको मान्यता अनुसार शिव स्तुतिको महिनाको रुपमा लिइने भएकोले शिव प्रसन्नताका लागि हरिया चुरा र पहिरन लगाउने धार्मिक विश्वास रहेको बताउनुभयो । यस्ता पहिरन र भेषभुषामा सजिने महिला प्रति भगवान प्रसन्न हुने र मनोकाङ्क्षा पुरा हुने मान्यता रहेको गजुरेलले सुनाउनुभयो । त्यसैगरी प्रत्येक सोमबार शिवको पूजाआराधना गर्दै उपवास बसेमा इच्छाएको प्राप्ति हुने जनविश्वास रहिआएको छ । शिव मन्दिरमा व्रतालु महिलाद्धारा पुजाआराधाना र स्तुति गरिन्छ । विवाहित महिलालले पति र परिवारको सु–स्वास्थ्य एवं दीर्घायु र अविवाहितले चाहे अनुसारको पतिको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ । हरियो रङलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्य र पहेँलोलाई पवित्रताको प्रतिकको रुपमा लिने गरिन्छ । कतिपयले महिलाले लगाएको साउने पहिरन संस्कृतिप्रति नकरात्मक टिकाटिप्पणी गर्ने गरेको पाइन्छ । तर त्यस्तो प्रकारको टिप्पणी गर्न छाडेर संस्कृति र परम्पराको अध्ययन गरी त्यसको जर्गेनामा लाग्नुपर्ने संस्कृति प्रेमीहरुको भनाइ छ । पहिरन लगाउँदा नकरात्मक र फजुल ठान्ने मानसिकताबाट माथी उठेर महिलाहरुलाई सम्मान गर्न समेत आवश्यक रहेको उनीहरु बताउँछन् । नेपाली महिलाहरूले साउनमा मात्र होइन, जुनसुकै समयमा पनि आफूलाई चाहेअनुरुप गर्न पाउनुपर्छ । अरुको प्रभाव र दबाबमा पारिनुहुँदैन ।

Shares

Be the first to comment on "मेहन्दी र चुराले भरिए हातहरु"

Leave a comment

Your email address will not be published.


*