मेलुङ गाउँपालिकामा“एक शैक्षिक संस्था,एक उद्यम कार्यक्रम”

दीक्षण समाचार /चरिकोट, –दोलखाको मेलुङ गाउँपालिकाले ‘एक शैक्षिक संस्था, एक उद्यम कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । शैक्षिक संस्थाहरुमा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्धेश्यका साथ एक सामुदायिक विद्यालयमा कार्यक्रम सञ्चालन गर्न लागिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शिक्षा अधिकृत नबराज सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो “विद्यार्थीहरुलाई विद्यालयमा अध्ययन गरिरहँदा श्रमप्रति सम्मानको भावना जगाउँदै उद्यममा आकर्षित गराउने उद्धेश्य अनुरुपको यो कार्यक्रम गर्न लागिएको हो ।” एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम कार्यान्वयन कार्यढाँचा, २०७८ मा उल्लेखित मापदण्डलाई आधार बनाएर यो वर्ष एक वटा सामुदायिक माध्यमिक विद्यालयलाई छनौट गरी कार्यक्रम सञ्चालन गरिने उहाँले सुनाउनुभयो । छनौट भएको विद्यालयले पाँच लाख रुपैयाँ अनुदान प्राप्त गर्ने र विद्यालयमा उद्यम कोष खडा गरी तोकिएको मापदण्ड अनुरुप विद्यार्थीको सहभागितामा कार्यक्रम सञ्चालन गर्ने शिक्षा अधिकृत सापकोटाले बताउनुभयो । शिक्षा अधिकृत सापकोटाले परिवेश सुहाउँदो उत्पादनमूलक कृषि, पशुपालन, हस्तकला, चित्रकलामा उद्यम गर्ने गरी कार्यक्रम सञ्चालन हुने बताउनुभयो । इच्छुक सामुदायिक माध्यमिक विद्यालयहरुले तोकिएको ढाँचामा उद्यम परियोजना प्रस्ताव, विद्यालयमा उद्यम कोष स्थापना भएको प्रमाण खुल्ने कागजात, विद्यालयमा उद्यमी विद्यार्थी क्लब गठन भएको प्रमाण खुल्ने कागजात, विद्यालयमा पूर्व विद्यार्थी मञ्च गठन भएको प्रमाण खुल्ने कागजात, सम्बन्धित वडाको सिफारिस पत्र उद्यम सञ्चालन गर्नका लागि विद्यालय व्यवस्थापन समितिको प्रतिबद्धता पत्र विद्यालयको आर्थिक, भौतिक, तथा जनशक्तिको अवस्था र वातावरणीय पूर्वाधार सहितको संक्षिप्त प्रोफाइल तोकिएको ढाँचामा शिक्षा, युवा तथा खेलकुद शाखामा प्रस्ताव पेश गर्न उहाँको अनुरोध छ । यसैबीच पालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा बाल विकास सहजकर्ताहरुको लागि परिचयपत्र वितरण गर्ने भएको छ । चालु आवको स्वीकृत वार्षिक बजेट अनुसार परिचय पत्र वितरणको कार्यक्रम रहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, शिक्षा अधिकृत सापकोटाले बताउनुभयो । पालिकाको सम्पूर्ण शैक्षिक संस्थाहरु बिहीबारदेखि खुलेका छन् । कोभिड १९ को प्रभावका कारण पालिकाका सम्पुर्ण शैक्षिक संस्थाहरु माघ १५ गतेदेखि बन्द रहेका थिए । बुधबारको गाउँ शिक्षा समितिको बैठकको निर्णयानुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्धारा जारी स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्डहरुको पूर्ण पालना गरी विद्यार्थीको प्रत्यक्ष भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरिएको हो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा“एक शैक्षिक संस्था,एक उद्यम कार्यक्रम”"

Leave a comment

Your email address will not be published.


*