मेलुङ गाउँपालिकाको माटोमा अम्लियपना बढी

मेलुङ गाउँपालिकाको माटोमा अम्लियपना बढी
दीक्षण समाचार
चरिकोट, फागनु ८
दोलखाको मेलुङ गाउँपालिकाको माटोमा अम्लियपना बढी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाको प्राविधिक सहयोगमा गरिएको नमूना माटो परीक्षण प्रतिवेदनले पालिकाको माटोमा अम्लियपना बढी देखाएको हो ।
सात वटै वडाबाट संकलित चार सय २६ वटा नमूना माटो परीक्षण गरिएकामा चार सय ५ अर्थात ९५ प्रतिशतमा अम्लियपना रहेको पालिकाका कृषि प्राविधिक झुपलाल केसीले बताउनु भयो । दुई सय २५ वटा नमूनामा प्रांगारिक पदार्थको कमी, एक सय ७३ वटामा मध्यम र २८ वटामा मात्रै अधिक प्रांगारिक पदार्थ रहेको र पाँच वटा नमूना मात्र तटस्थ रहेको पाइएको उहाँले जानकारी दिनुभयो । प्रांगारिक पदार्थको कमी र अम्लियपना बढी रहेकोले पालिकाको माटोमा उत्पादनशक्ति घटेको पुष्टि भएको उहाँको भनाई थियो । रासायनिक मल र विषादीको अधिक प्रयोगले माटोको उर्वराशक्ति गुमेको उहाँले उल्लेख गर्नु भयो । “अम्लियपना बढ्नु भनेको माटो बिग्रनु भन्ने हुन्छ । प्रांगारिक मलको कम प्रयोग र रासायनिक मलको जथाभावी प्रयोगले माटो बिग्रिएको हो ।” कृषि प्राविधिक केसीले भन्नुभयो । माटोमा सुधार ल्याई कृषि उत्पादन बढाउन नियमित परीक्षण गरी प्रांगारिक मल तथा कृषि चुनको प्रयोग बढाउनु पर्ने उहाँले बताउनु भयो । फागुन ५ गतेदेखि तीन दिन पालिकाको नमूना माटो परीक्षण गरिएको हो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाको माटोमा अम्लियपना बढी"

Leave a comment

Your email address will not be published.


*