मेलुङमा स्वास्थ्य बीमा अभियान सञ्चालन हुने ,प्राविधिक शिक्षामा जोड

दोलखा, ३१ असार
स्वास्थ्यमा खर्चिलो हुनबाट बचाउन नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमालाई मेलुङ गाउँपालिकाले अभियानकै रुपमा लागु गर्ने भएको छ । बीमाको चेतना कम भएको अवस्थामा बीमा चेतना सहित गाउँपालिकाको आफैं पहलमा अभियान सञ्चालन गर्न लागेको हो ।
त्यसैगरी स्वास्थ्यमा सुधारका लागि हरेक स्वास्थ्य चौकीको पूर्वाधार विकास गरी सरकारले उपलब्ध गराएको निशुल्क औषधी नियमित उपलब्धता गराउने र स्वास्थ्यकर्मीलाई नियमित गराउने विषय समेत नीति तथा कार्यक्रम रहेको छ ।
स्वास्थ रहनका लागि योग शिविर र सामुदायिक औषधी कार्यक्रम समेत लागू गर्ने गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए । त्यसैगरी स्वास्थ्य संस्था बाहेक सुत्केरी गराउन सुन्यमा झार्ने लक्ष्य राखेको छ । गाउँपालिका भित्रको सबै स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुती सेवा सञ्चालन गर्ने योजना छ ।
मेलुङ गाउँपालिकाले स्थानीय जडिबुटी प्रयोग गरेर आयुर्वेद स्वास्थ्यलाई पनि प्रोत्साहन गर्ने भएको छ । दोलखामा भएको ३ वटा आयुर्वेद स्वास्थ्य केन्द्र मध्ये मेलुङ ४ भेड्पूमा समेत रहेको छ ।
स्वास्थ्य र सरसफाइका लागि एक घर एक धारा कार्यक्रम अभियान समेत सञ्चालन गर्ने भएको छ । त्यसैगरी गाउँपालिकालाई प्लाष्टिकजन्य फोहोरमुक्त बनाउने भएको छ ।

प्राविधिक शिक्षामा जोड
मेलुङ गाउँपालिकाले रोजगारमूलक शिक्षामा जोड दिंदै प्राविधिक शिक्षालय खोल्ने भएको छ । शिक्षित वर्ग पनि सीपको अभावमा बेराजगारको संख्या बढ्दै गएकाले स्थानीय स्तरमै प्राविधिक शिक्षालय खोल्ने तयारी गरेको हो । गाउँपालिकाको आर्थिक वर्ष २०७५।०७६ मा प्राविधिक रोजगारमूलक प्राविधिक शिक्षालय खोल्न नीति नै पास गरेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुको पछिल्लो समय प्राविधिक तथा रोजगारमूलक शिक्षा तर्फ आकर्षण देखिएको र स्थानीयस्तरको आवश्यकतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको उनले बताए ।
सीटीभीटीसँगको सम्बन्धनमा छुट्टै वा हाल सञ्चालित सामुदायिक विद्यालयहरुमै रोजगारमूलक शिक्षा सञ्चालन गर्ने बारे भने टुङ्गो नलागेको जानकारी दिए । “कृषि, निर्माण, स्वास्थ्य कुनै पनि विषयको प्राविधिक शिक्षा खोल्छौं” उनले भने “हाम्रा कोही पनि व्यक्ति बेरोजगार नहुने गरी शिक्षा नीतिमै जोड दिएका छौं ।”
गाउँपालिका भित्रबाट एसइइ परीक्षामा विशिष्ट श्रेणी हाँसिल गर्नेहरु सबैलाई छात्रवृद्धिको व्यवस्था समेत गर्न लागेको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयबाट ए वा ए प्लस प्राप्ताङ्क हाँसिल गर्ने जो कोही विद्यालर्थीलाई उच्च शिक्षाका लागि छात्रवृद्धिको व्यवस्था गर्न लागेको हो । क्षमता भएर पनि विज्ञान जस्ता प्राविधिक र खर्चिलो शिक्षा हाँसिल गर्नबाट बञ्चित नहुन् भन्ने उद्देश्यले नै यस्तो व्यवस्था गर्न लागेको उनले बताए ।
शिक्षाको स्तर वृद्धि गर्नका लागि गाउँपालिकाले जुनसुकै उपाय पनि अपनाउने गरी काम गर्ने योजना बनाएको छ । विद्यार्थीहरुलाई बेलैदेखि सामाजिक सेवाको भाव विकास गर्न बाल क्लब बनाएर काम गराउने योजना छ । शिक्षकहरुको क्षमता विकास र विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान, विद्यार्थीको भौतिक पूर्वाधार, शैक्षिक सामाग्रीको प्रयापत व्यवस्था लगायत शैक्षिक परिवर्तनका लागि ध्यान दिन लागेको हो ।

Shares

Be the first to comment on "मेलुङमा स्वास्थ्य बीमा अभियान सञ्चालन हुने ,प्राविधिक शिक्षामा जोड"

Leave a comment

Your email address will not be published.


*