मेलुङका दुई युवा लम्कदैछन् बन्न लखपति

इश्वर बिश्वकर्मा चरिकोट, –दोलखाको मेलूङ गाउँपालिका वडा नं. ६ का दुई युवाले गाउँमै संयुक्तरुपमा बेकरी उद्योग सञ्चालनमा ल्याएका छन् ।
कुशल श्रेष्ठ र प्रदिप श्रेष्ठले स्वरोजगार बन्ने, बनाउने उद्देश्यका साथ ४ लाखको लगानीमा गत वर्षको चैतबाट फलानो बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याएका हुन् ।
गाउँमा बेकरी नभएको र केक, पाउरोटी जस्ता नास्ताका परिकारको माग रहेकोले त्यसको परिपूर्तिका लागि आफुहरुले बेकरी उद्योग सञ्चालनमा ल्याएको सञ्चालक कुशल श्रेष्ठले बताए ।
” गाउँमा पनि सहरमा जस्तै जन्मदिनमा केक काट्ने प्रचलन बढेको छ । तर केक बनाउने मान्छे कमै छन् । त्यसैले त्यसको परिपूर्ति गर्ने उद्देश्यका साथ बेकरी उद्योग खोलेको हौं ।” उनले भने ।
बेकरीमा बर्थ डे केकसहित दुनोट, पाउरोटी, क्रिम रोल र विभिन्न खाद्यवस्तु उत्पादन हुने गरेको छ । उद्योगबाट राम्रो आम्दानी लिई लखपति बन्ने योजना रहेको अर्का सञ्चालक प्रदिप श्रेष्ठले बताए ।
उनिहरुले आफ्नै गाउँमा मिहिनेत गरे सफलताको शिखर चुम्न समय नलाग्ने भन्दै क्याफेसहितको बेकरी उद्योग सञ्चालनमा ल्याएको उनले बताए ।
कुशल विदेशबाट फर्केर उद्यम गर्न तर्फ अग्रसर भएका हुन् । विदेशमा झैं काममा खट्ने हो भने स्वदेशमै राम्रो आम्दानी गर्न सकिने निष्कर्षमा पुगेका छन् कुशल ।
” ३ बर्ष मलेसियामै बित्यो । त्यहाँ राम्रो काम र दाम पाउन सकिएन ।” रुन्चे स्वरमा उनले भने ” विदेशमा आफुले इच्छाएको जस्तो हुँदो रहेनछ । त्यसैले स्वदेश फर्किएर साथीसगैं गाउँमा बेकरी उद्योग सञ्चालन गरें ।” उनले विदेश जानुभन्दा अगाडि काठमाडौंमा आफ्ना साथीबाट बेकरी उद्योग सञ्चालनबारे सीप सिकेका थिए । त्यो सीपको प्रयोग आफ्नै गाउँमा गरेका हुन् । त्यस्तै प्रदिप स्वदेशमा नै गाडी चलाउने गर्दथे । तर उनि उक्त कामबाट सन्तुष्ट भने हुन सकेका थिएनन् । त्यसैले छोटो समयमै राम्रो आम्दानी गर्न सकिने भएको र गाउँमा बेकरी नभएको र केक, पाउरोटी जस्ता नास्ताका परिकारको माग रहेकोले त्यसको परिपूर्तिका लागि कुशलसँग मिलेर संयुक्त रुपमा बेकरी क्याफे सञ्चालनमा लागेका हुन् ।

कोरोना बन्यो चुनौती
बेकरी तथा क्याफे सञ्चालन गरेको ७ महिना पुग्यो । उक्त समयमा ठुलो चुनौतीसँग लड्नु पर्यो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नेपाल हुँदै दोलखा सम्म आईपुगेको छ। जसले बेकरी उद्योगमा नराम्रो प्रभाव परेको छ । भिडभाड गर्न नमिल्ने भएकोले उद्योग पनि सुनसान बन्न पुगेको छ । कमै मात्र ग्राहक उत्पादित खाद्य वस्तु किन्न आउंछन् । उनिहरुलाई ‘पहिलो गाँसमै ढुङ्गा’ झैं लागेको छ ।
” कोरोनाको कारण बेकरी उद्योगबाट उत्पादित सामग्रीले ग्राहक पाएन ।” कुशल भन्छन् “स्वदेशमा नयाँ उत्साह र सोचका साथ उद्योग खोलियो तर चुनौतीको रुपमा कोरोना आयो ।” तर कुशल र प्रदिप हार नखाई हिम्मतका साथ अघि बढ्ने कुरा बताउछन् । अहिले कम परिमाणमा उत्पादित खाद्य वस्तुले बजार पाएपनि जिविकोपार्जन भइरहेको छ । अबको केहि महिना मैं कोरोना भाइरसको अन्त्य भई उद्योग चल्ने छ । अनि स्वदेशमै परिवारको साथमा रमाउँदै आकर्षक आम्दानी गर्न सफल हुने आशा उनिहरुले राखेका छन् ।

Shares

Be the first to comment on "मेलुङका दुई युवा लम्कदैछन् बन्न लखपति"

Leave a comment

Your email address will not be published.


*