मालुमा जेष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन ६
दोलखाको तामाकोसी गाउँपालिका ४ मालुमा जेष्ठनागरिक भेट भई अनुभव साट्नका लागि जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गरिएको छ ।
जेष्ठ नागरिकहरु भई भएर अनुभव आदानप्रदान गरि दैनिकी व्यतित गराउन वडाले चालु आर्थिक वर्ष जेष्ठ नागरिक मिलन केन्द्र निर्माण सम्पन्न गरेको हो ।
वडाले गत वर्ष देखि निर्माण सुरु गरि चालु आर्थिक वर्ष करिब ३० लाख रुपैँयामा केन्द्रको १ तले पक्की भवन निर्माण सम्पन्न गरेको वडाले जनाएको छ ।
वडाध्यक्ष होम बहादुर श्रेष्ठले बृद्धबृद्धाहरुलाई भेला गराई मनोरञ्जनका साथै दुखपिर भुलाउन अतिरिक्त क्रियाकलाप गराउने उद्धेश्यले मिलन केन्द्र निर्माण गरिएको बताए । “ बृद्धबृद्धालाई प्राथमिकता राख्दै वडाले मिलन केन्द्र निर्माण गरेको हो । मिलन केन्द्रमा माग अनुसारको विभिन्न सामग्रीहरु बैशाख महिनाभित्र उपलब्ध गराइ केन्द्रलाई पुर्णता दिइने छ ।”

उनले जेष्ठ नागरिक मिलन केन्द्रमा जेष्ठनागरिक स्वास्थ्य अवस्थालाई ध्यान दिदैँ नियमित स्वास्थ्य जाँचका लागि एक स्वास्थ्य कर्मी राखिने योजना रहेको बताए । जसले गर्दा सामान्य स्वास्थ्य समस्या आँउदा उपचारमा सहज हुने छ । केन्द्रमा विभिन्न धार्मिक तथा अन्य पुस्तक सहितको पुस्ताकालय, प्राचिन महत्व बोकेका बाद्यबादनका सामग्री, सुचनाका लागि रेडियो, टेलिभिजन र पत्रपत्रिका व्यवस्था गरिने वडाध्यक्ष श्रेष्ठले बताए । निर्माण भएको मिलन केन्द्रमा अहिले पनि दैनिक ५ देखि ७ जना जेष्ठनागरिकहरु भेला भई अनुभव आदानप्रदान गर्ने गरेका छन् । आवश्यक सामग्री बिनै केन्द्रमा जेष्ठनागरिक भेला हुन्छन् । सामग्री उपलब्ध भएपछि वडाका करिब १० जना भन्दा बढी जेष्ठ नागरिक भेला हुने उनले बताए । वडामा ६० वर्ष माथीका ५ सय र ७० वर्ष पुगेका १ सय ८० जना जेष्ठनागरिक रहेका छन् । जेष्ठ नागरिक मिलन केन्द्रले पुर्णता पाएपछि जेष्ठ नागरिकमा खुशी थपिने वडाले दाबी गरेको छ ।
वडाले जेष्ठनागरिकका लागि बर्षमा २ पटक घरघरमा नै पुगेर स्वास्थ्य जाँच गर्नुका साथै उपचारका लागि सहयोग पनि गर्दै आएको छ । साथै विभिन्न समयमा टेक्ने लौरो र न्यायो कपडा वितरणले जेष्ठनागरिक खुशी हुने गरेका छन् ।

Shares

Be the first to comment on "मालुमा जेष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण"

Leave a comment

Your email address will not be published.


*