माथिल्लो तामाकोसीको सुरुङको काम सकियो

दीक्षण समाचार
दोलखा, ३ पुस
बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सबै सुरु पूरा भएको छ । सोमबार साँझ आयोजनाको सर्जसाफ्ट सुरुङ ब्रेक थ्रु भएसँगै सुरुङ खन्ने काम पूरा भएको हो । आयोजनाको ८.४ किलोमिटर मुख्य सुरुङ “ब्रेक थ्रु” भएको १३ महिनापछि सबै सर्जसाफ्ट पनि खोलिएको हो ।
आयोजनाका प्रबक्ता डा. गणेश न्यौपानेले अब आयोजनाका सबै सुरुङ पूरा भएको जानकारी दिए । सर्जसाफ्ट अडिट सहित १ हजार १ सय मिटर छड्के ठाडो रहेको छ । जुन मुख्य सुरुङ(हेड रेस टनेल) लामाबगरमा रहेको बाँधस्थलदेखि गोगरमा रहेको विद्युत गृहसम्म पानी ल्याउन प्रयोग गरिने सुरुङभन्दा फरक भएको उनले बताए ।
“आयोजनाका लागि पानी बहने सुरुङहरु एक वर्ष अघि नै पूरा भएका छन्” उनले भने “यो सुरुङ आयोजनाको विद्युत गृह एक्कासी बन्द हुँदा लामाबगरबाट आएको पानी ठाडो सुरुङबाट बढी भएर जम्मा हुने र हावा बाहिर जाने ठाउँ हो ।” आयोजनाले मुख्य सुरुङ सहित विद्युत गृहसम्म पुग्न २ वटा ठाडो सुरुङ समेत तयार गरेको छ । जुन तल्लो ३७२ मिटर र माथिल्लो ३१० मिटरका छन् । दुवैमा अहिले पेनस्टक पाइप जडानको काम भइरहेको छ ।
सुरुङ निर्माण गर्ने चिनीया कम्पनी सिन्हो हाइड्रो कर्पोरेसनले गरे तापनि ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काम भारतीय कम्पनी केइसी रेल्वे इन्टरनेशनलले ठेक्का पाएको छ । तर पाइपको काममा भएको ढिलाइले नै आयोजनाको विद्युत उत्पादन मिति धकेलिदै आएको छ ।
भौतिक रुपमा सुरुङ निर्माण पूरा भएपछि त्यसको कंक्रिट लाइनिङ र फिनिसिङको काम पनि भइरहेको छ । आयोजनाको मुख्य सुरुङ सहित १८.४ किलोमिटर रहेको छ । मुख्य सुरुङ, टेलरेस सुरुङ, अडिट सुरुङ, पावर हाउस, ठाडो सुरुङ तयार भएका छन् ।
२०७२ बैशाखको भुकम्पको कारण डेढ वर्ष सुरुङ निर्माण स्थगित भएको थियो । आयोजनाको हालसम्म समग्रमा ९७.५ प्रतिशत प्रगति भएको छ । आयोजनाले २०७६ असारदेखि व्यापारिक उत्पादन गर्ने तयारी रहेको उनले बताए ।
आयोजनाले विद्युत क्षमता बढाउँनका लागि भैसैं खोलाको पानी समेत मिसाउने भएको छ । भैसैं खोलाको पानीलाई सानो इन्टेक बनाएर छड्के सुरुङ बनाएर भैंसे अडिट नजिकै मुख्य सुरुङमै मिसाउन लागेको छ । भैसेको पानी मिसाउनका लागि समेत सुरुङ र इन्टेकको काम जारी रहेको उनले जानकारी दिए । भैसैंको पानी हिउँदमा मिसाइने छ ।
आयोजनाको पूर्व अनुमानित लागत ३५ अर्ब २९ करोडमा डलरमा भएको मुल्य वृद्धि, भुकम्प र नाकाबन्दी र ऋणको व्याज सहित लागत दोब्बर हुने आयोजनाले प्रक्ष्यपन गरेको छ ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसीको सुरुङको काम सकियो"

Leave a comment

Your email address will not be published.


*