माथिल्लो तामाकोसीको माथिल्लो साफ्टको पाइप जडान पनि सुरु

दीक्षण समाचार
दोलखा,११ असार
माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई अर्को सफलता मिलेको छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सपलतापूर्वक पु¥याएसँगै जडान कार्य पनि सुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैमा पाइप जडान सुरु भएको हो ।
माथिल्लो ठाडो सुरुङमा साँढे २ मिटर लम्बाइ र ९ टन तौल भएको पाइप ३५ टन तौल क्षमताको क्रेनबाट २ घण्टामा माथिबाट तल झारेको आयाजनाका उप प्रबन्धक पूर्णगोपाल रञ्जितले जानकारी दिए । तल्लोभन्दा माथिल्लो क्रेनको गति निकै छिटो भएको उनले बताए । यसको गति ७ मिटर प्रति मिनेट रहेको उनले जानकारी दिए ।
मंगलबार दिउँसो माथिल्लो ठाडो सुरुङको पहिलो पाइप झार्न आयोजना प्रमुख दिनेशजंग राणा, पावर हाउस तथा मेकानिकल महाशाखा प्रमुख नारायण जैसी तिवारी, इलेक्ट्रिकल महाशाखा प्रमुख रञ्जित लगायतको उपस्थिति रहेको आयोजनाका प्रबक्ता डा. गाणेश न्यौपानेले जानकारी दिए ।
१० दिन अघि तल्लो सुरुङमा ५ मिटर लम्बाइ र २८ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । “तल्लो खण्डको तुलनामा माथिल्लोको गति छिटो नै होे” उनले भने “पाइप जडानकै कारण आयोजनाबाट विद्युत उत्पादन जटिल बन्दै गएकोमा अब सफलता मिल्नेमा आशाबादी बनेका छौं ।”
माथिल्लो ठाडो सुरुङमा मंगलबार दिउँसो पाइप झारेपछि पुछारमा रहेको बेण्ड पेनस्टक पाइप मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कंक्रिट गरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान सुरु हुने छ । माथिल्लो पेनस्टक साफ्ट ३१० मिटरको छ ।
पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौलता हटेको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘पेनस्टक पाइप जडान ज्यादै गाह्रो थियो, यस अघि जडान सुरु गर्दा क्रेनको डोरी नै चुंडिएको थियो” उनले भने “त्यसपछि क्रेनले काम गर्ने÷नगर्ने लगायतका अन्यौल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्यौता हट्दै आयोजना समयमै पूरा हुनेमा अब आत्मविश्वास बढेको छ ।” नेपालमा यति ठूलो र गहिरो सुरुङमा पाइप राख्ने काममा नेपालीहरुको अनुभव नभएकाले पनि बेलाबेलामा समस्या पर्दै गएको छ ।
पाइप जोडेपछि त्यसलाई जोड्न बेल्डिङ गर्नु पर्छ । बेल्डिङको लागि मुखको दुवै पाइप २४ घण्टासम्म तताउनु पर्छ । त्यसपछि जोडेर पुनः सेलाउन २४ घण्टा लाग्छ । यसपछि सुरुङसँग बाहिरी घेरामा सिमेन्ट र बालुवाको घोल पठाएर कंक्रिट गर्नु पर्छ । यति गर्न एउटा पाइप जोड्न कम्तिमा ५ दिनदेखि ७ दिनसम्म लाग्न सक्छ । तर सुरुमा केही ढिला भए तापनि विस्तारै कामले गति लिनेमा आफूहरु विश्वस्त भएको प्रवक्ता न्यौपानेले बताए ।
पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । तर माथिल्लो साफ्टको ३१० मिटरको पाइप जडान कार्य भने भारतीय कम्पनी ( लट २) कै टेक्सम्याको रेल्वे एण्ड इजिनियरिङले नै गर्दै आएको छ ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसीको माथिल्लो साफ्टको पाइप जडान पनि सुरु"

Leave a comment

Your email address will not be published.


*