माथिल्लो तामाकोसीको पेनस्टक पाइप ढुवानी सकियो ,जडान सुस्त

दीक्षण समाचार
निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ढुवानीमा जटिल समस्याको रुपमा रहेकोे पेनस्टक पाइप ढुवानी सकिएको छ । गत वर्ष ढुवानी गरी सिन्धुपाल्चोकका सुनकोसी पावर हाउस परिसरमा राखिएको सबै पाइप आयोजनास्थल गोंगर पुगेका छन् । ति पाइपको ढुवानीसँगै आयोजनाका लागि ढुवानी समस्या टरेको छ ।
आयोजनाको लट २ अन्र्तगतको तल्लो पेनस्टक ठाडो सुरुङमा जडान हुने ५ मिटर लामो पाइप ढुवानी पूरा भएको हो । “आयोजनाको लागि ठूला पाइप सुनकोसीबाट उठेका छन्, एउटा पाइप बोकेको गाडी बाटोमा छ” आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भने, “त्यो पनि मंगलबार रातीसम्म आयोजनास्थल गोंगर पुग्छ होला, ति पाइपको ढुवानीसँगै अब ठेकेदारले ढुवानी नसकेकाले पाइप जडान गर्न नसकेको बहाना बनाउँन पाउँदैन ।” ५ मिटर लामो पाइप ७४ वटा छन् ।
४५६ मेगावाट क्षमताको आयोजनाको लट २ को भारतीय कम्पनी टेक्सम्याकोले गर्न नसकेपछि काम टुक्रयाएर अष्ट्रियन कम्पनी एन्द्रिजलाई दिएको २ महिनामै पाइप ढुवानी सकेको हो । तल्लो पेनस्टक साफ्ट ३७३ मिटरको ठाडो सुरुङ छ ।
आयोजनाको तल्लो पेनस्टक साफ्टको पेनस्टक पाइप जडान र परीक्षणको काम एन्द्रिजले पाएको छ । ढुवानीसँगै एन्द्रिजले पाइप जडानको काम पनि सुरु गरेको छ । सम्झौता भए लगत्तै एन्द्रिजले काम सुरु गरेको थियो । आयोजना, भारतीय कम्पनी टेक्सम्याको र एन्द्रिज बीच गत पुस २३ गते त्रिपक्षीय सम्झौता भएको थियो ।
आयोजनाको ३१० मिटरको माथिल्लो ठाडो सुरुङ सहित बाँकी काम टेक्सम्याको आफैंले गर्ने भएको छ । माथिल्लो खण्डका लागि पाइप ढुवानी पनि उसैले गर्दै आएको छ । माथिल्लो खण्डका लागि साँढे २ मिटरको पाइप १२ चक्के टेलरमा ल्याउने हुँदा समस्या छैन । तर ति पाइप पनि कतिपय अझै भारतमै छन् ।
सिभिललगायत अन्य काम अन्तिम चरणमा पुगेका बेला लट २ को ठेकेदार टेक्सम्याकोका कारण आयोजना ढिलाइ हुन पुगेको छ । टेक्सम्याकोले अहिले कबुल गरेको काम समेत गर्न नसके ति पनि एन्द्रिजलाई दिन सक्ने स्थिति रहेको उनले बताए ।
पेनस्टक पाइपको काम बारे त्रिपक्षीय सम्झौतापछि अब २०७६ कार्तिकसम्म आयोजनाले विद्युत उत्पादन गर्न सक्ने विश्वास बढेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । आयोजनाको यही पुसमा विद्युत उत्पादन गर्ने लक्ष्य राखे तापनि पेनस्टक पाइप ढुवानी र जडानकै कामको ढिलाइले समय लम्बिएको हो ।
पाइप जडान अझै सुस्त
पाइप ढुवानीको समस्या सुल्झिएर सकिन लागे तापनि पाइप जडानको काम उस्तै छ । तल्लो पेनस्टक साफ्टमा एन्द्रिजले २ महिनामा बल्ल एउटा पाइप मात्र जडान सकेको छ । सुरुको तयारीका कारण समय लागे तापनि अब दोस्रो पाइप जडानदेखि कामले तिब्रता पाउने प्रवक्ता न्यौपानेले बताए ।
माथिल्लो खण्डको पनि टेक्सम्याकोले एउटा पनि पाइप जडान गर्न सकेको छैन । साँढे २ मिटरको २ वटा पाइपलाई बाहिरै जोडेर सुरुङमा जडानको लागि लगिन्छ । तर पाइप जडानमा यही गतिको सुस्तता कायम रहे आउँदो कात्तिकमा विद्युत उत्पादन गर्ने लक्ष्यमा पुनः ठेस पुग्ने स्थिति छ ।
आयोजनाको हाइड्रोमेकानिकल अन्र्तगत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरु, स्टपलगहरु, पेनस्टक पाइप आदीको डिजाइन, ढुवानी, जडान, परीक्षण र कमिसनिङ आदी पर्दछन् । आयोजनामा दुवै ठाडो सुरुङ सहित १ हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नु पर्ने छ । पेनस्टक पाइप जडान नभएका कारण सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोले गर्नुपर्ने कंक्रिटिङको काम समेत रोकिएको छ ।
२०७३ साउनबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको आयोजनाले भुकम्पपछि संशोधिन गरी २०७५ असारबाट उत्पादन सुरु गर्ने लक्ष्य राखियो । तर लट २ कै कारण ९ महिना थप भयो । त्यो समयमा पनि पूरा नहुने भएपछि अहिले २०७६ कार्तिकसम्म परीक्षण उत्पादन गर्ने संशोधित कार्यतालिका बनाइएको छ । भुकम्प र नाकाबन्दी, डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिदा हुने प्रशासनीक खर्च लगायतका कारण ३५ अर्ब २९ करोड अनुमानित लागत समेत बढेर व्याज सहित दोब्बर हुने अनुमान छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न विद्युतगृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । जसअनुसार आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकलमा टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेशन निर्माणमा भारतको केईसी इन्टरनेश्नल लिमिटेडले गरिरहेका छन् । तर फुलासीमा बनाउने सव स्टेशनको काम पनि ढिलाइ छ ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसीको पेनस्टक पाइप ढुवानी सकियो ,जडान सुस्त"

Leave a comment

Your email address will not be published.


*