माथिल्लो तामाकोसि आयोजनाको भोली ब्रेक थ्रु हुँदै, सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको जानकारी

चरिकोट(दीस)– दोलखाको लामावगरमा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको मुख्य सुरुङको आइतबार ‘ब्रेक थ्रू’ हुँदैछ । आयोजनाका लागि निर्माण हुनुपर्ने आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङ निर्माण कार्य भोली सम्पन्न हुने भएको हो । आयोजना प्रमुख विज्ञान श्रेष्ठले सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको जानकारी दिए । उनका अनुसार इलेक्ट्रोमेकानिकलका लागि सामानहरु आयोजना स्थलमा पुर्याउने काम जारी छ । सडक विभागले खाँडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्रेको काम गरिरहेकाले ‘हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म पुर्याउन कठीन भएको अधिकारीहरुले बताएका छन् । आयोजनाको अहिले विद्युतगृहमा उपकरण जडानको काम समेत सुरु भैसकेको छ । आयोजना प्रवक्ता गणेश न्यौपानेले कंक्रिटको काम द्रुत गतिमा अघि बढाउन रातदिन काम भइरहेको र टर्बाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी रहेको जानकारी दिए । प्रसारणलाइनका लागि ठड्याउनुपर्ने एक सय ४७ वटा पोलमध्ये २९ वटा पोल निर्माण कार्य पनि सकिएको छ, अव १६ वटा मात्र बाँकी छन् । आयोजना प्रमुख श्रेष्ठका अनुसार आगामी असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सकेर व्यापारिक उत्पादन सुरु गर्न थप ६ महिना लाग्ने छ । ायोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने सेयर चुनावलगत्तै निष्कासनको तयारी गरेको छ । त्यसमा क, ख र ग वर्गमा विभाजन गरी जिल्लाबासिलाई शेयर वितरण गरिनेछ । आयोजनाको लागत ३५ अर्ब ३० करोड रुपैयाँ रहेपनि भुकम्पका कारण बढ्नसक्ने अनुमान छ ।उक्त रकम वाहेक सरकारले आयोजनाका लागि ११ अर्ब आठ करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय गरिसकेको छ । राष्टिय गौरवको माथिल्लो तामाकोसि आयोजना स्वदेशी लगानीमा निर्माण हुन लागेको हो ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसि आयोजनाको भोली ब्रेक थ्रु हुँदै, सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको जानकारी"

Leave a comment

Your email address will not be published.


*