माथिल्लो तामाकोशी आयोजना : विद्युत् गृहको सुख्खा परीक्षण सफल

चरिकोट : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भूमिगत विद्युत गृहमा जडान भएका मेशिनहरुको सुख्खा परीक्षण सफल भएको छ। विगु गाउँपालिका–१, लामाबगरको गोंगरखोलास्थित आयोजनको भूमिगत विद्युत गृहको टर्वाइन, ट्रान्सफर्मर, जेनेरेटर, एमएसओभी, विद्युत् आउटपुट मेशिन लगायतका सबै सामान कम्प्युटर प्रणालीमा जडान पश्चात गरिएको सुक्खा परीक्षण सफल भएको हो।

विद्युत् गृहमा जडान गरिएको ८ वटा ट्रान्सफर्मर, ८ वटा जेनेरेटर, ६ वटा टर्वाइन, एमएसओभी लगायतका मेशिनहरुले गर्नुपर्ने कार्यहरुको सुख्खा परीक्षण सफल भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए।

आयोजनामा जडान गरिएको टर्वाइन, जेनेरेटर, ट्रान्सफर्मर लगायतका मेशिनहरुमा पानी नपठाइकन पनि गर्नुपर्ने निर्धारित काम ठिकदुरुस्त गरेको छ छैन भनी गरिने परीक्षणलाई सुख्खा परीक्षण भनिने गरिन्छ।

जडान भएका मेशिनहरुको क्षमता दुरुस्त बनाई राख्न दैनिक एकपटक लुब्रिकेन्ट राखेर मेशिन तताउने गरिएको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए। ती मेशिनहरुमा पानी पठाएर नियमित सञ्चालन नगरुन्जेलसम्म सोही प्रक्रियाबाट मेशिनलाई दुरुस्त राख्ने कार्य गरिने उनले बताए।

आयोजनाको बाँधस्थल लामाबगरदेखि विद्युत् गृह गोंगरसम्म ८ किलोमिटर मुख्य सुरुङमार्फत विद्युत् गृहसम्म पुग्न ३७३ मिटरको तल्लो र ३१० मिटरको माथिल्लो २ वटा ठाडो सुरुङमार्फत पानी
पठाएर विद्युत् उत्पादन गरिन्छ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोशी आयोजना : विद्युत् गृहको सुख्खा परीक्षण सफल"

Leave a comment

Your email address will not be published.


*