महासंघको २३ वर्षे इतिहासमा आफ्नै भवन

जीवन लामा
अध्यक्ष, नेपाल पत्रकार महासंघ, दोलखा
नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आठौं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गर्यो । २०७३ फागुन १८ गते १७ सदस्यीय नयाँ कार्यसमिति चयनपछि भवन निर्माण कार्यलाई प्राथमिकता दिने निर्णयहरु अघि बढ्दै गयो । पूर्वअध्यक्ष राजेन्द्र मानन्धरको कार्यकालमा जग्गा सम्याउने र वाल उठाउने कार्य भएको थियो । विभिन्न समाजसेवी, तत्कालिन गाउँ विकास समिति, जिल्ला विकास समिति दोलखाले आर्थिक सहयोग गरेका थिए । यसैको आडमा महासंघले भवन निर्माण गर्न सकिन्छ भन्ने आशा जाग्दै गयो । यसमा मैले यस कार्यसमितिले मात्र गरेको हो भन्ने ठकुवा गर्दिन । किन कि सबैको उत्तिकै भूमिका, सहयोग रहेको छ । तसर्थ पत्रकार मात्र होईन सबै सबैको सहयोगको उच्च कदर र सम्मान स्वरुप केही लेख्ने कोशिस गर्नेछुु ।
२०७४ फागुन १८ गतेबाट भवन निर्माण कार्य सुरु भयो । आर्थिक अभावको कारण जत्ति सहयोग जुट्छ उत्तिनै भवन निर्माण कार्य अगाडि बढाउदै गयो । भवन निर्माण खातामा १८, १९ लाख मात्र थियो । टेण्डर आव्हान गर्दा निर्माण व्यवसायीहरु कति करोडको टेण्डर हो भनेर सोध्ने गर्नुहुन्थ्यो । मसँग जवाफहरु प्रशस्तै थियो । भनु कि जस्तो पनि लाग्थ्यो तर के गर्नु ? जसरी पनि भवन निर्माण सम्पन्न गर्नु थियो । तसर्थ मनमनै ती जवाफहरु कुहाएर राखे । अहिले पनि सोध्ने गर्छन कति करोडमा बनेको नि ? मैले अहिले पनि उत्तर दिने कुनै ठाउँ पाएको छैन । हुन पनि त्यस्ता प्रश्न किन नउठोस । करोडभन्दा कममा त कुनै कामनै नबन्ने रहेछ । करोडमा पनि कत्ति करोड ? यस्ता प्रश्नहरुले मेरो मननै कहाँ कहाँ पुर्याएको छ । वास्तविक खर्च बाहिर ल्याउन बाँकी छ । अनुमानित ६०, ६२ लाखभन्दा बढी लागेको छैन । तरपनि यस क्रममा १०० जनाभन्दा बढी अट्ने हल निर्माण भएको । ढुंगा ओछ्याएको छ । प्रवेश द्धारमा आकर्षक बगैंचा या मिनी पार्क निर्माण भएको छ । यसलाई पूरा गर्न अझै धेरै बाँकी छ । अहिलेनै पनि हेरु हेरु सम्मको घर निर्माण भएको छ ।
पत्रकार महासंघ दोलखा २०५३ सालमा रामेछाप र दोलखा संयुक्त रुपमा गठन भएको शाखा हो । २३ वर्षसम्म अरुको आश्रय लिन बाध्य भयौ । मैले सुनेको थिए, घरभाडा तिर्न नसकेर बोर्डनै फालेको । अरु कार्यालयसँग समन्वय गरेर कुर्सी, टेवल राखेको । फोनको पैसा तिर्न नसकेर लाईन काटेको धेरै इतिहास सुन्दै आएको छु । २०७६ फागुन ७ गतेदेखि आफ्नै भवनबाट नियमित कार्य सञ्चालन हुँदा आफैलाई गर्व लागेको छ । यो खुुशी, सबैलाई जान्छ । सबैको पसिना यस भवनमा परेको छ । पत्रकार महासंघ दोलखाका पूर्वअध्यक्षहरु र दोलखाली अनि अन्य समाजसेवी व्यक्तिहरु सबैमा यस भवनप्रतिको माया, लगानी, सद्भाव प्राप्त भएको छ । सबैको सहयोगकै कारण आज हामी आफ्नै भवन भन्न सकेका छौ । हुन त पत्रकारको भवन भन्ने बुझाई भए तापनि सिङ्गो दोलखाली अनि नेपालकै हो भन्ने मलाई लाग्छ । नाम उल्लेख गर्न सकेन कि सयौ व्यक्तिहरु हुनुहुन्छ । कसैको नाम छुटिन सक्छ त्यसैले यी कुराहरु उद्घाटनको क्रममा शिलालेखमा उल्लेख गर्नेछौ । स्मारिकामा सय, हजारको समेत हिसाब राख्ने छौ । अहिलेसम्म यस भवन निर्माणको लागि सबैले रातदिन भन्नु भएन । सहयोग माग्दा कसैले हुँदैन भन्ने शब्द सुन्नु परेन । कतिले त मेरो म्यासेन्जरमा नम्बर लिदै सहयोग लिन आउन आग्रह गर्नुभएको छ । के सहयोग गरु भनेर सोध्नु भएको छ । मेरो पनि सहयोग रहन्छ है भन्नु भएको छ । मलाई लाग्छ यस भवन अब पत्रकार महासंघको मात्र होईन सबैको हो । सबैले हाम्रो हो भन्ने अधिकार छ । तसर्थ यसक्रममा सहयोगदाता सबै सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
आज ३ वर्ष पुगेको छ । २०७३ फागुन १८ गतेनै महासंघको नेतृत्व चयन भएको थियो । खुशी लागेको छ के गर्यौ होइन, के गरेनौ । मलाई लाग्छ धेरै निकायहरुसँगको सहकार्यमा पत्रकारहरुको क्षमताअभिवृद्धिदेखि लिएर महासंघको संस्थागत विकासमा उल्लेखीय कार्यहरु सम्पन्न गर्यौ, अगाडि बढाउदैछौ । जिल्लामा नेपाल पत्रकार महासंघसँग सहकार्य गरौ भन्ने सबैमा बुझाई गर्यौ । सबैको सद्भाव र सहयोगलेनै आज महासंघप्रति गर्व गर्ने ठाउँ पाएका छौ । सहयोग गर्ने मन इच्छा हुँदा हुँदै पनि, खल्तीमा पैसा नहुँदा पनि महासंघलाई सहयोग गर्ने, गर्नुपर्छ भन्ने भावना सबैमा जागृत गर्यौ । यही हाम्रो उपलब्धी हो । कलम चलाउने काम मात्र होईन, सामाजिक कार्यमा समेत उत्तिकै अग्रभूमिका रह्यौ । महासंघलाई साक्षी कतै राखेनौ । महासंघसँग सहकार्य गर्ने वातावरण निर्माण गर्यौ । यही नै हाम्रो सफलता हो । यहीनै हाम्रो उपलब्धी हो । बागमती प्रदेशमा रहेका १३ वटा जिल्लामध्ये दोलखा र रसुवामा मात्र पत्रकार महासंघको भवन थिएन । यस्ता कुरा सुन्दा मलाई दुख लाग्थ्यो तर अब हामी पनि के कम भन्ने घमण्डनै बढेको छ । गर्वकासाथ हामी पनि आफ्नै भवनमा भन्ने दिन आएको छ । यहीनै सफलता हो । यसैमा गर्व गरौ ।

Shares

Be the first to comment on "महासंघको २३ वर्षे इतिहासमा आफ्नै भवन"

Leave a comment

Your email address will not be published.


*