मलाई भगवानले बचाए भन्दै जो ४६ वर्षपछि घर फर्किए

साउन १४, २०७५

लमजुङ – लमजुङको बेसीसहर–२ भकुन्डे खत्रीगाउँका प्रेमबहादुर खडका बेपत्ता भएको ४६ वर्षपछि घर फर्केका छन् । मजदुरी गर्न बाल्यकालमै भारत गएका उनी २४ वर्षको उमेरमा घर आएका थिए । त्यसपछि पुनः भारत गएपछि बेपत्ता भएका थिए ।
भारत मेघालयस्थित गाई फार्ममा काम गरेका उनी ७० वर्षको बुढ्यौली उमेरमा शुक्रबार गाउँ फर्किएका हुन् ।

भकुन्डे क्षेत्रमा बसबाट ओर्लिएर उनी सोधखोज गर्दै गाउँसम्म आइपुगे । ‘खडका गाउँ आउँदा बूढापाकाले ढिला गरी चिने,’ उनका छिमेकी पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष कृष्ण केसीले भने, ‘उनले पनि केही बूढापाकालाई सम्झिएका रहेछन् ।’ केसीका अनुसार प्रेमबहादुर अहिले असहज अवस्थामा छन् ।
‘बाँचेर गाउँ फर्किन्छु जस्तो सोचेको थिइनँ । जन्मभूमिमा फर्कन मलाई भगवानले बचायो,’ खडकाले मसिनो गरी हिन्दी लवजमा नेपाली बोल्दै भने, ‘सबैसँग भेट भयो । खुसी लाग्यो ।’ प्रेमबहादुरसँग नेपाली नागरिकता छैन । उनको नजिकका आफन्त पनि छैनन् । बुवाआमाको नागरिकता थियोरथिएन भन्नेबारे पनि उनलाई थाहा छैन । प्रेमबहादुरका अर्को आमापट्टिका सन्तानको भने नागरिकता छ । ७० वर्ष पुगेपछि भत्ता पाइन्छ भन्दा उनले नागरिकता लिन मन गरेको केसीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

Shares

Be the first to comment on "मलाई भगवानले बचाए भन्दै जो ४६ वर्षपछि घर फर्किए"

Leave a comment

Your email address will not be published.


*