मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह

ईश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक २३
जिल्ला निर्वाचन कार्यालय दोलखाकी प्रमुख शकुन्तला राईले मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन लक्षित गरी सञ्चालन भएको सो कार्यक्रम सहभागी हुन आममतदाताहरुलाई उहाँले आग्रह गर्नु भएको हो ।
शुक्रबारदेखि महिला स्वयंसेविका मार्फत् सञ्चालित मतदाता शिक्षा र यो अन्तर्गतको नमूना मतदान कार्यक्रममा सहभागी हुन उहाँको आग्रह छ । “मतदान प्रक्रिया बारे अनभिज्ञ मतदाताहरु यो कार्यक्रमबाट वञ्चित भए निर्वाचनको दिन मतदान गर्न अलमलमा पर्ने र मत खेर जाने हुन्छ ।” निर्वाचन अधिकारी राइले भन्नुभयो, “सही तरिकाले मतदान गर्न अहिले जारी मतदाता शिक्षा कार्यक्रममा अनिवार्य सहभागी हुन आवश्यक छ ।”
उहाँका अनुसार अहिले महिला स्वास्थ्य स्वयंसेविकाहरु मतदाताको घरदैलोमा मतदाता शिक्षा सहजकर्ताको भूमिकामा पुगिरहेका छन् । उनीहरुले मतदाताको भूमिका, मतदानको महत्व, प्रक्रिया र तरिका बारे सुसूचित पार्ने कार्य गरिरहेका छन् । “उनीहरु पहिले झोलामा स्वास्थ्य सन्देश सामाग्री बोकेर नागरिकको घरआँगनमा पुग्थे । तर अहिले नमुना मतपत्र र प्रचार सामाग्री बोकेर मतदाता भेट्न आइरहेका छन् ।” उहाँले भन्नुभयो, “निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुले उनीहरुबाट शिक्षा र सीप आर्जेर मतदान प्रक्रियामा सहभागी हुन आममतादालाई मेरो आग्रह छ ।”
प्रमुख राईले मतदाता शिक्षा सहजकर्ता शिक्षक झैँ भएको हुँदा मतदाताले सोधेको सम्पूर्ण प्रश्नको उत्तर दिने र मतदान बारे सम्पूर्ण जानकारी दिएर सुसूचित पार्ने बताउनु भयो । “तालिम प्राप्त मतदाता शिक्षा सहजकर्तालाई मतदान बारे निर्धक्क भएर जिज्ञासा राख्न सकिने छ । कार्यालय प्रमुख राईले भन्नुभयो “उनीहरुले मतदानसँग सम्बन्धित मतदाताको जिज्ञासा मेटाइ दिने छन् ।” उहाँले मतदाता शिक्षा सहजकर्ताहरु आफ्नो घरदैलोमा नआएको भए सम्बन्धित वडामा जानकारी दिन अनुरोध गर्नु भयो ।
मतदाता शिक्षा अन्तर्गत स्थानीय तहको कार्यालयहरुमा नमूना मतदान कार्यक्रम सञ्चालन भईरहेको छ । मतदान प्रक्रियाको सिप र अभ्यासका लागि सो कार्यक्रम प्रभावकारी रहेकोले मतदाताहरुलाई सहभागिताको लागि कार्यालय प्रमुख राईले अनुरोध गर्नु भयो । उहाँले दक्ष मतदाता तयार पार्ने, मतदान प्रक्रियामा सहभागिता बढाउने र बदर मत न्यूनीकरण गर्ने उद्धेश्यलाई सफल पार्न मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइएको सुनाउनु भयो ।

Shares

Be the first to comment on "मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह"

Leave a comment

Your email address will not be published.


*