मतदाता नामावली सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मन्तव्य व्यक्त गर्नुहुँदै प्रजिअ टेकराज निरौला

दीक्षण समाचार
चरिकोट, मंसिर १८
चरिकोटमा मतदाता नामावली संकलन सम्बन्धि अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पालिका कार्यालयमैँ जारी मतदाता नामावली संकलन विषेश कार्यक्रमलाई सफल पार्न जिल्ला निर्वाचन कार्यालय दोलखाले जिल्ला समन्वय समितिको हलमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रमका सहभागीहरुले शारीरिक समस्या तथा अपाङ्गता भएका व्यक्तिलाई पालिका केन्द्रसम्म आउन कठिनाइ हुने भएकोले सबैलाई सहज हुने गरी वडास्तरमा नामावली संकलन कार्य गर्नुपर्ने माग गरे । तर निर्वाचन आयोगको निर्णय अनुसार पालिकास्तरमा नामावली संकलन सुरु नै भइसकेकोले वडामा अब त्यस्तो सम्भव नहुने निर्वाचन कार्यालयका निमित्त प्रमुख, प्रमुख दर्ता अधिकारी विशाल के.सीले बताउनुभयो । उहाँले जिल्लाको नौ वटै पालिकामा फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गरिने भएको हुँदा यसअघि छुटेकाहरुले मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गर्नुभयो । नागरिकहरुलाई मतदाता नामावली दर्ताका लागि आवश्यक सहयोग स्थानीय सरकार तथा सरोकारवालाले गर्नुपर्ने उहाँले सुनाउनुभयो । कोही नछुटुन्, कोही नदोहोरिउन्, भन्ने नारासहित दुई चरणमा हुने गरी शुक्रबारबाट सुरु भएको कार्यक्रम पहिलो चरण अन्तर्गत गौरीशंकर गाउँपालिका, विगु गाउँपालिका, कालिञ्चोक गाउँपालिका, शैलुङ गाउँपालिकाको कार्यालय परिसरमा मतदाता नामावली दर्ता तथा संकलन कार्यक्रम सञ्चालन भइरहेको छ । यी पालिकाहरुमा २६ गतेसम्म कार्यक्रम चल्ने बताइएको छ । दोस्रो चरण अन्तर्गत दोश्रो चरण अन्तर्गत मंसिर २९ देखि पुस नौ गतेसम्म जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिकाको कार्यालय परिसरमा हुने छ । भीमेश्वर नगरपालिकाको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा हुने निमित्त प्रमुख के.सीले बताउनुभयो । नेपालभर नामावली संकलन गर्ने कार्य भइरहेकोले पढाई र रोजगारको शिलशिलामा जिल्ला बाहिर रहेकाहरुले पनि आफू बस्ने जिल्ला निवार्चन कार्यालयमा गएर नाम दर्ता सक्ने व्यवस्था गरिएको छ । कार्यक्रम निमित्त प्रमुख के.सीले मतदाता नामावलीमा नामदर्ता पक्रिया, मतदाता परिचयपत्रको महत्व, अनलाईनमार्फत् नामावली विवरण हेर्ने विधि लगायत जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्नुएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले पालिकाहरुमा जारी मतदाता नामावली संकलन कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहको समन्वय महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मताधिकारबाट उपयोग तथा सुरक्षित गर्न प्रत्येक व्यक्तिले मतदाता नामावालीमा नाम दर्ता गराउनुपर्ने सुनाउनुभयो । निर्वाचन आयोगको स्वीकृत कार्यक्रम अन्तर्गत नजिकिदैँ गरेको स्थानीय, प्रदेश र संघको निर्वाचनलाई दृष्टिगत गर्दै मतदाता नामावली संकलन विषेश कार्यक्रम, २०७८ दोलखामा पनि जारी छ ।

Shares

Be the first to comment on "मतदाता नामावली सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*