भ्रष्टाचार विरुद्धको दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दीक्षण समाचार
चरिकोट, मंसिर २३
दोलखाको सदरमुकाम चरिकोटमा भ्रष्टाचार न्यूनीकरणको लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस–२०२१ को अवसरमा मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपालले उक्त कार्यक्रमको आयोजना गरेको हो । सरकारी कार्यालयका कर्मचारीसहित सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता बद्री कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क प्रस्तुत गनुहुँदै नेपालमा मन्त्रालयदेखि त्यस अन्तर्गतका सरकारी कार्यालय र स्थानीय तहमा भ्रष्टाचार बढेकोले यसतर्फ सचेत नागरिकको खबरदारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता थप प्रभावकारी बनाउन आवश्यक रहेको सुनाउनुभयो । नैतिक मूल्यमा आएको ह्रास, मंहगो चुनाव, राजनीति तथा समाज सेवाबाट पेशा हुँदै व्यवासायमा परिणति हुँदैँ जाँदा, लाभको लागि जे पनि गर्न तयार हुने भ्रष्ट प्रवृद्धिका कारण भ्रष्टचार मौलाएको उहाँले बताउनुभयो । भ्रष्ट प्रवृतिलाई निरुत्साहित तथा न्यूनीकरण नगरी सम्बद्ध निकाय लाचार र मौन बस्दा भ्रष्टाचार व्याप भई देशलाई नकरात्मक असर परेको छ । देश विकासको निम्ति बाधक बनेको भ्रष्टाचारलाई निर्मुल गर्न सबैले भ्रष्ट आचारण त्याग्नुपर्ने उहाँले सुनाउनुभयो । उहाँले सार्वजनिक पदधारण गरेका व्यक्ति र जनताले आफ्नो कर्तव्य परिपालना गरेको खण्डमा सदाचारयुक्त समाज निर्माण स्वतः हुने बताउनुभयो । डियस्पी भेषराज रिजालले नेपालमा पछिल्लो वर्षमा नयाँ नयाँ स्वरुपमा भ्रष्टाचार मौलाएको र यसले विश्वमा नेपाल भ्रष्ट देशको रुपमा चिनिन गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सदाचार समाजका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुहुँदै सञ्चारमाध्यममा आएका भ्रष्टाचारका समाचारलाई आयोगले अनुसन्धान गर्ने र प्रमाणित भएको खण्डमा कारबाही समेत गर्ने गरेको उहाँले सुनाउनुभयो । भ्रष्टाचार सम्बन्धि समाचार आएमा आयोगले अनुसन्धान गर्ने भएकोले जिल्लाका सञ्चारमाध्यमलाई भ्रष्टाचार विरुद्ध समाचार प्रकाशनप्रसारण गर्न अनुरोध गर्नुभयो । भ्रष्टाचार न्यूनीकरणमा नागरिकसहित सरोकारवाला निकाय सबैको जिम्मेवारी महत्वपूर्ण हुने उहाँले सुनाउनुभयो । कार्यक्रम हुराडेक नेपालका अध्यक्ष उद्धवप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । संयुक्त राष्ट्र संघले सन् २००३ को डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माहोल बनाउन भ्रष्टाचार विरुद्धको महासन्धिलाई सदस्य राष्ट्रबाट अनुमोदन गराउन आग्रह गर्दै दिवस मनाउने घोषणा गरेको हो । भ्रष्टाचारलाई विश्वको मुख्य साझा समस्या मान्दै विश्वभर यो दिवस मनाउन थालिएको हो ।

Shares

Be the first to comment on "भ्रष्टाचार विरुद्धको दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*