भोजनसगैँ हौसला दिने चरिकोटका युवाहरु

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ १
भनिन्छ नि, भजन गाँउने ओठहरु भन्दा सेवा गर्ने हात महान् हुन्छन् । हो यो आदर्श वाक्यलाई शिरोधार्य गर्दै दोलखाका युवाहरुले आफ्ना हातलाई सामाजिक कार्यमा संलग्न गराएर महानता प्रस्तुत गरेका छन् । अहिले विश्वभर फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले मानव जीवनलाई हायलकायल बनाएको छ । दोलखामा पनि दिनदिनै नयाँ कोरोना संक्रमित फेला परिरहेका छन् । सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालमा संक्रमितहरु उपचारका लागि भर्ना हुने क्रम बढेको छ । अस्पतालमा भर्ना भएका संक्रमितलाई खाजा र खाना व्यवस्थापनमा सकस पर्ने अवस्था रहेको थियो । तर सहज अवस्था ल्याइदिएको छ, चरिकोटको लालीगुँरास युवा क्लबले । लाखे नाच लगायतका संस्कृतिको संरक्षणमा बर्षैदेखि सक्रिय हुदैँ आएको क्लब सामाजिक सेवामा पनि सक्रिय रहेको उदाहरण पाउन सकिन्छ । क्लबले चरिकोट अस्पतालमा भर्ना भएका कोरोना संक्रमणका बिरामी, कुरुवा र संक्रमितहरुको उपचार व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खाजा र खाना खुवाउने अभियान सञ्चालन गरिरहेको छ । बैशाख २८ गतेदेखि सुरुवात गरिएको यो अभियानबाट शनिबारसम्म ५ सय २३ जना लाभान्वित भएको क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताए । यो अभियानलाई चरिकोट गुठी, दोलखा उद्योग वाणिज्य संघ, पुरानो बजार खानेपानी उपभोक्त समिति, भीमेश्वर नगरपालिका वडा नं. ३ ले सहित  व्यक्ति तथा विभिन्न संघसंस्थाहरुको साथ र सहयोग रहेको छ । अध्यक्ष श्रेष्ठ भन्छन्–यो अभियानले अस्पताल बिरामी र स्वास्थ्यकर्मीको भोक मेटाइदिने काम गरेको छ । खानेहरु खुसी छन्, हामी सन्तुष्ट छौँ । अस्पतालमा भर्ना भई उपचाररत संक्रमितको आत्मबल तथा शारिरीक क्षमतामा पनि सुधारको प्रयास स्वरुप बिहानी खाजा र खानासगैँ समयसमयमा सुपको पनि व्यवस्था गरिने गरिएको छ । कुरुवा तथा स्वास्थ्यकर्मीहरुलाई र खाजा र खाना खुवाउदैँ हौसला प्रदान गर्ने गरिएको अध्यक्ष श्रेष्ठले बताए । क्लबका युवाहरुले क्लबको कार्यालयमा खाना र खाजा तयार गर्छन्, अनि अत्यन्त सचेत हुँदै अस्पतालसम्म पुर्याउछन् । अनि स्वास्थ्यकर्मी, कोभिड बिरामी र कुरुवालाई वितरण गर्छन् । यो अभियान जेठ १५ गते सम्मका लागि मात्र भनि घोषणा गरिएको भएपनि पछिसम्म निरन्तरता हुन सक्ने क्लबले जनाएको छ ।

Shares

Be the first to comment on "भोजनसगैँ हौसला दिने चरिकोटका युवाहरु"

Leave a comment

Your email address will not be published.


*