भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण हुने

ईश्वर विश्वकर्मा
चरिकोट, साउन २
दोलखामा पक्की र पर्याप्त भवन नहुँदा कठिन पूर्वक सेवा प्रवाह गरिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नयाँ भवन निर्माण हुने भएको छ।
२०७२ को विनाशकारी भूकम्पपछि जिल्ला स्थित अन्य सरकारी कार्यालयको पक्की र नयाँ भवन बनेपनि किसानलाई लामो समयदेखि सेवा प्रवाह गर्दै आएको केन्द्रको भवन भने बल्ल निर्माण हुन लागेको हो ।  दोलखा र सिन्धुपाल्चोक कार्यक्षेत्र रहेको केन्द्रको मुख्य कार्यालय भवन चरिकोटमा निर्माणको प्रक्रिया सुरु भइसकेको डाक्टर निशान्त शर्माले बताउनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा चार लाख रुपैयाँको लागतमा भवनको डिपिआर तयार भएको छ । भवन निर्माणको काम भने नयाँ आर्थिक वर्ष २०७९÷०८० देखि सुभारम्भ हुने छ । सोको लागि बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । डिपिआर अनुसार चार करोड ५ लाख लागत अनुमान गरिएको भवन निर्माणको काम क्रमागत योजनामा हुन लागेको डाक्टर शर्माले बताउनुभयो । भवन निर्माणको लागि २०७७÷०७८ मा १ करोड ५० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । तर जनशक्ति अभाव तथा कोभिड १९ संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनको कारण केन्द्रले नयाँ भवन पाउन सकेन । आव २०७८÷०७९ मा पनि १ करोड ५० लाख रुपैयाँ बजेट प्राप्त भएको भएपनि भवन निर्माण नहुँदा बजेट फिर्ता गएको छ । तर यो आवमा भने डिपिआर नै तयार भइसकेकोले बजेटको कार्यान्वयन हुने डाक्टर शर्माले बताउनुभयो ।
पशुपन्छीको रोग रोकथाम तथा उपचार गरी किसानलाई पशुपालनमा प्रोत्साहित गर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको मुख्य कार्यालय चरिकोटमा अहिले एक तले एक वटा प्रिफ्याब र एक वटा पुरानो भवन मात्र रहेको छ । ति भवनबाट असहजतामै प्रशासनिक कार्यालय सञ्चालन भइरहे पनि अत्याधुनिक प्रयोगशाला सञ्चालन गर्न सम्भव छैन। जसले गर्दा थप सेवा प्रवाहमा निकै समस्या भइरहेको छ । किसानको समस्या समाधान गरिदिने अस्पताल तथा केन्द्र भवन अभावमा आठ वर्षदेखि आफैं समस्यामा छ । तर नयाँ भवन बनेसँगै यी समस्या समाधान भई सम्पूर्ण सेवा प्रवाहमा सहजता मिल्ने छ ।

Shares

Be the first to comment on "भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माण हुने"

Leave a comment

Your email address will not be published.


*