भुमेस्थान माविको नवनिर्मित भवन हस्तान्तरण

चरिकोट, पुस १६–दोलखाको मेलुङ गाउँपालिका वडा नं. ३ मा रहेको भुमेस्थान माविको नवनिर्मित भवन बुधबार एक समारोह बिच हस्तान्तरण गरिएको छ । एसियाली विकास बैँक (एडिबी)को ५ करोड ६४ लाख आर्थिक सहयोगमा निर्माण सुरु भएको २२ महिनापछि नवनिर्मित सुविधासम्पन्न २२ कोठे भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक तामाङको अध्यक्षतामा भएको विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले विद्यालय भवन निर्माण भएसगैँ पठनपाठनमा सहज हुने र विद्यालयबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने बताए । उनले शिक्षा क्षेत्रको विकास र उन्नतीको लागि पालिकाले विभिन्न योजनाबद्ध कार्यहरु सञ्चालन र सम्पादन गरिरहेको बताए । विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकहरुको क्षमता अभिवृद्धिका साथै शैक्षिक सुधारको अभियानलाई तिब्रता दिइने अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा मेलुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हिरा थोकरले विद्यालयमा पर्याप्त मात्रामा शिक्षकहरुको व्यवस्था गर्दै शिक्षामा राम्रो नतिजा ल्याउने वातावरण निर्माण गरिने बताए । कार्यक्रममा शैलुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष रामेश्वर उप्रेती, पालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत नवराज सापकोटा, जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) दोलखाका प्रमुख गोविन्द सेढाइँ लगायतले मन्तव्य व्यक्त गरेका थिए । २०७२ सालको भूकम्पले विद्यालय भवनमा पुर्ण रुपमा क्षति पुगेपछि टहरामा पठनपाठन हुदैँ आएको थियो । अब विद्यालयको आफ्नै सुविधासम्पन्न भवन भएपछि सहज रुपमा पठनपाठन गर्न सकिने विद्यालयका प्रधानाध्यापक शिव बहादुर कार्कीले बताए । साथै छात्राछात्रका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था विद्यालयमा रहेको छ । विद्यालयमा हाल २ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Shares

Be the first to comment on "भुमेस्थान माविको नवनिर्मित भवन हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*