भीमेश्वर रंगशालाको प्यारापिट निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न

नवराज शिवाकोटी चरिकोटः सदरमुकाम चरिकोटमा रहेको निर्माणाधिन भीमेश्वर रंगशालाको प्यारापिट निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । भीमेश्वर नगरपालिकाको गौरवको आयोजना मध्येको एक सो रंगशालाको दक्षिण–पूर्व तर्फको प्यारापिट निर्माण करिब ९५ प्रतिशत सम्पन्न भएको हो ।
१३ करोड ९ लाख ७१ हजार ८७५ रुपैयाँको लागत अनुमान रहेको भीमेश्वर रंगशालको दक्षिण–पूर्वतर्फको प्यारापिट निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्यालले बताउनु भयो । रंगशालाको दक्षिण–पूर्वतर्फको प्यारापिट निर्माणकालागि २०७७ साल असार १२ गते किराँतेश्वर÷सिमपानी जेभीसँग १२ करोड ६५ लाख ८२ हजार ५२१ रुपैयाँ (भ्याट सहित) मा निर्माण सम्झौता भएको थियो । प्यारापिट निर्माणको वित्तिय प्रगति भने ८६ प्रतिशत रहेको सूचना अधिकारी अर्यालको भनाई छ ।
रंगशाला निर्माणको पहिलो चरणमा हुने काम अन्तर्गत दक्षिण–पूर्वतिरको दुई तले भवनसहितको अत्याधुनिक आरसीसी प्याराफिट निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको भीमेश्वर नगरपालिकाका इञ्जिनीयर सुरेस राउतले जानकारी दिनुभयो । रंगशालाको दक्षिण(पूर्वतर्फ हाल २५–२५ मिटर लम्बाइका दुईवटा र ३०–३० मिटरको दुईवटा ब्लक निर्माण सम्पन्न हुने चरणमा छन् । निर्मित संरचनामा भुईं तल्लामा ४० वटा व्यापारिक सटर निकालेर दुई तलाको भवन र त्यसमाथि प्यारापिट निर्माण सकिएको छ । निर्माण सम्झौता बमोजिम अब ६ वटा शौचालयको फिनिसिङ, स्टिल रेलिङ, युपिभिसीका झ्याल ढोका तथा मञ्चमा टूस हाल्ने काम मात्र बाँकीरहेको निर्माण कम्पनी सिमपानी जेभीका राजु केसीले बताउनुभयो । अबको दुई महिना भित्र काम सम्पन्न गरी प्यारापिट हस्तान्तरण गर्ने गरी काम भइरहेको उहाँको भनाई छ ।
पूर्णरुपमा निर्माण सम्पन्न भएछि रंगशालाको मैदानको लम्बाई ११० मिटर तथा चौँडाई ६५ मिटर हुने छ । भीमेश्वर रंगशाला निर्माणकालागि २० करोड लागत अनुमान गरिएको छ । पहिलो चरणमा सो प्यारापिटको निर्माण गरिएको हो । रंगशाल निर्माणको दोस्रो चरणको कामका लागि आर्थिक स्रोत जुटेपछि ठेक्का आह्वान गरिने भीमेश्वर नगरपालिकाले बताएको छ । दोस्रो चरणमा उत्तरतिरको प्याराफिट, खेल मैदान र टिकट काउन्टर, अतिथि आसनलगायतका संरचना तयार हुने भीमेश्वर नगरपालिकाले बताएको छ । रंगशाला निर्माण पछि राष्ट्रियस्तरको खेलहरू सदरमुकाम चरिकोटमा संचालन गर्न सकिने छ । यसबाट चरिकोटमा खेल पर्यटकहरू आउँदा आन्तरिक पर्यटकहरुको आगमन बढ्ने भीमेश्वर नगरको आशा छ । रंगशालाको उत्तर–पूर्वतर्फ भने भूमिगत पार्किङ, टिकट काउण्टर, क्यान्टिन, शौचालय, बाथरुम तथा खेलकुदका कार्यालय राख्ने कोठा लगाएतका संरचना निर्माण गरिने योजना रहेको भीमेश्वर नगरपालिकाको भनाई रहको छ ।

Shares

Be the first to comment on "भीमेश्वर रंगशालाको प्यारापिट निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न"

Leave a comment

Your email address will not be published.


*