भीमेश्वर नगर भित्रका विद्यार्थीलाई दिवा खाजा

दीक्षण समाचार
चरिकोट, १९ भदौ
दोलखाको भीमेश्वर नगरपालिकाले साना नानीहरुलाई खाजाको व्यवस्था गरेको छ । नगरपालिकाले वालबिकास कक्षा देखि कक्षा १ सम्मका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरेको हो । सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गराउनका लागि नगरपालिकाले विद्यालय पोशाक सहित खाजाको समेत व्यवस्था गरेको हो ।
भीमेश्वर नगरपालिकाले यही भदौ १६ गतेदेखि नै सामुदायिक बिद्यालयका कक्षा १ सम्मका बिद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरेको हो । नगरपालिकाले बिद्यार्थीहरुको खाजावापत चालु बर्ष १५ लाख रुपैयाँ रकम विनियोजन गरेको भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत केसीले जानकारी दिए ।
नगरपालिकाभित्र ४४ वटा सामुदायिक विद्यालयमा २४ सय ८३ जना बिद्यार्थीहरु रहेका छन् । जसमध्ये बालविकास देखि कक्षा १ सम्मका ५ सय ३४ जना बिद्यार्थीलाई खाजाको व्यवस्था गरेको हो ।
नगरपालिकाले प्रतिबिद्यार्थी १५ रुपैयाँका दरले १ सय ८० दिनका लागि खाजाको व्यवस्था गरेको छ । जसअनुसार एक जना बिद्यार्थीले खाजाखर्चवापत एक महिनामा ४ सय ५० र एक बर्षमा २ हजार ७ सय रुपैयाँ पाउने छन् । खाजावापतको रकम भीमेश्वर नगरपालिकाले चौमासिक रुपमा सम्बन्धित विद्यालयको खातामा जम्मा गरिदिने व्यवस्था भएको भीमेश्वर नगरपालिकाका नगर शिक्षा अधिकारी अर्जुन कार्कीले जानकारी दिए ।
यता कालिञ्चोक माध्यमिक बिद्यालयले भने नगरपालिकाले दिएको रकममा केही रकम थप गरेर बिद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरेको छ । प्रति बिद्यार्थी कम्तिमा २५ रुपैयाँ जति लाग्ने भएकाले नपुग रकम बिद्यालयले नै व्यहोर्ने गरी व्यवस्थापन गरेको बिद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेले जानकारी दिए । उनका अनुसार बाहिरको तयारी खाना भन्दा बिद्यालयमा नै बनाएर बिद्यार्थीहरुलाई दिवा खाजा खुवाउने व्यवस्था मिलाईएको छ । कालिञ्चोक माविमा वालबिकासदेखि कक्षा १ सम्म ५२ जना बिद्यार्थीहरु अध्ययनरत छन् ।
भीमेश्वर नगरपालिकाले सामुदायिक बिद्यालयका वालबिकासदेखि कक्षा ५ सम्मका बिद्यार्थीलाई बिद्यालय पोशाकको समेत व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको लागि पनि बिद्यालय पोशाकका लागि ३० लाख बराबरको रकम छुट्याएको र टेण्डर प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगर भित्रका विद्यार्थीलाई दिवा खाजा"

Leave a comment

Your email address will not be published.


*