भीमेश्वर नगरपालिकाले मनायाे २५ औं स्थापना दिवस

इश्वर बिश्वकर्मा
चरिकोट, माघ ११
दोलखाको भीमेश्वर नगरपालिकाको २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि उत्सवकाे रुपमा मनाइएको छ । नगर प्रमुख भरत केसीको सभाध्यक्षतामा भएको दिवस समारोहको उद्धघाटन जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले पानसमा दिप प्रज्वलन र केक काटेर गरे । स्थापना दिवस समारोहको उद्धघाटन गर्दै समन्वय प्रमुख डबल पाण्डेले सम्बृद्ध नगर निर्माणको दुरदृष्टि योजना सम्पन्न गर्न नगरका कर्मचारी र जनप्रतिनिधिले आफ्नो जिम्मेवारी कुशलता पुर्वक वहन गर्नुपर्ने बताए । स्रोत र सोच पर्याप्त रहेकोले नगर समृद्ध बनाउने अभियान सफल हुने पनि उनले बताए । दिवस समारोहमा नगर प्रमुख भरत  केसीले सम्बृद्ध भीमेश्वर पौरखी भीमेश्वरको नारालाई शिरोधार्य गर्दै जनताको मन जित्ने गरि काम गरेको दाबी गरे । नगरलाई बागमती प्रदेशकै पहिलो बालमैत्री पालिका घोषणा गर्न सफल भएको, खेल क्षेत्रलाई प्राथमिकतामा राखि एक वडा एक खेलमैदानको अवधारणा अनुरूप प्रत्येक वडामा खेलमैदान निर्माण गरिएको, जिल्लाकै गौरवको आयोजनाको रुपमा प्यारापिट सहितको रङ्गशाला निर्माण शुरु गरिएको, कर्वड हल निर्माणलाई अन्तिम चरणमा पुर्याइएको, एक घर एक धारा, एक वडा एक पार्क, एक वडा एक रिचार्ज पोखरीको अभियान अन्तर्गत कार्य गरिएको नगर प्रमुख केसीले बताए ।

भीमेश्वर नगर उप्रमुख कमला बस्नेतले स्वागत मन्तव्य राख्दै २०७४ को निर्वाचनमा निर्वाचित भएपछि आफ्ना घोषणापत्रमा उल्लेख भएको कुरालाई पुरा गर्न सफल भएको दाबी गरिन् । त्यस्तै स्वास्थ्य, शिक्षा, सडक पुर्वाधार निर्माणको कार्यलाई तीब्र पारिएको उनले बताइन् । भौतिक पूर्वाधारको क्षेत्रलाई मात्र नभई लक्षित वर्गको उत्थान र शसक्तिकरणको निम्ति नगरले अनुकरणीय नमुना योग्य कार्य गरेको छ । पर्याप्त, दक्ष इमान्दार कर्मचारीको व्यवस्थापन, पर्याप्त संरचना र जनप्रतिनिधिको समन्वय र सहकार्यले नगरको विकास सम्भ रहेको उनले बताइन् । दिवस समारोहमा नेपाल सरकारका पुर्व सचिव एवम् राष्ट्रिय सुचना आयोगका पुर्व प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले विभिन्न पालिकाहरुको राम्रा र असल अभ्यास बारे जानकारी गराउँदै स्थानीय तहका जनप्रतिनिधी र कर्मचारी इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ हुनुपर्ने बताएका थिए ।
समारोहमा कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले भीमेश्वर नगरपालिकामा अन्य पालिकाको तुलनामा गौरव गर्न लायक कार्य भएको बताइन् । जनताको असिमित चाहना रहेको र ति चाहना पूरा गर्न चुनौतीपुर्ण रहेपनि मुख्य र महत्वपूर्ण चाहना तथा योजनालाई सम्बोधन गरिएको बताइन् । गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामीले ’आँखाको नानी’को रुपमा रहेको भीमेश्वर नगरपालिका झन् विकास र समृद्ध हुनुपर्ने बताइन् । जिरी नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकीले जनताको जीवनस्तरसँग जोडिएका विकासका योजनालाई भीमेश्वरले पुरा गर्ने प्रयास गरेको बताइन् । बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले नगरपालिकाले दिने सेवा सुविधामा जनताको गुनासो कमै रहेको र गुनासोको सम्बोधनको प्रयास पनि हुने गरेको भन्दै भीमेश्वर नगरपालिकाको प्रशंसा गरे । उनले भीमेश्वर नगरपालिकाले दिगो विकासको लक्ष्यलाई अबलम्बन गरि आफ्ना कार्यहरुलाई तिब्र पारिएको बताए ।
३ पत्रकार सहित १६ व्यक्ति तथा संस्था सम्मानित
भीमेश्वर नगरपालिकाले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा ३ जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ। नगरको विकास निर्माण, सेवा प्रवाह र असल अभ्यासको समाचार सम्प्रेषण गरि नागरिकलाई शुसुचित गर्ने कार्य गरेको भन्दै नगरले कदर स्वरुप जिल्लाका ३ त्रियाशिल पत्रकारलाई सम्मान गरेको हो ।
जिल्लाको एकमात्र दीक्षण दैनिकका सम्पादक श्रृजन कुमार घिमिरे, नेपाल प्रेस युनियन दोलखाका अध्यक्ष दिपशंकर चौलागाईँ र कालिञ्चोक एफएममा कार्यरत गायत्री आचार्यलाइ नगरले सम्मान गरेकाे हाे । साथै अमुल एण्ड स्नेहा कन्टक्सन, चरिघ्याङ टोल विकास संस्था, वडा नं. ५ मथानीका उत्कृष्ट कृषक रामहरी सुवेदी, वडा नं. ६ रामकोटका कृषक माधव प्रसाद न्यौपानेलाई सम्मान गरिएको छ । भीमेश्वर नगरपालिकाका ८ बोचमा गठित उपभोक्ता समितिका अध्यक्ष गोरख बहादुर बस्नेत, भीमेश्वर नगरपालिका कार्यालयका खरिदार भक्त बहादुर थापा, उत्कृष्ट करदाताको रुपमा मोहन कार्की र सुदर्शन कार्की, डाक्टर विनोद दङ्गाल, वडा नं. ७ मा रहेको कुटीडाँडा माध्यमिक विद्यालय, खोरथली सामुदायिक वन उपभोक्ता समुह भीमेश्वर नगरपालिका वडा नं. ३, भीमेश्वर नगरपालिका ६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड , संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम युएनडिपी र नेपाल स्काउटलाई नगद सहित सम्मान गरिएको छ । उनिहरुलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले नगद र प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरे । भीमेश्वर नगरपालिका वि.सं. २०५३ सालमा तत्कालिन चरिकोट, माटी, दोलखा र मकैबारी गाविसहरू समावेस गरेर स्थापना गरिएकोमा वि.सं. २०७३ सालमा पुनः साविकको सुष्पाक्षमावती, बोच र लाकुरीडाँडा गाविसहरू भीमेश्वर नगरपालिकामा थप गरी हालको भीमेश्वर नगरपालिका सङ्घीय स्वरूपमा पुनर्संरचना एवम् पुनर्गठन गरिएको हो । यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्वसूचना दिने सहस्र अवतारको देवताका रूपमा परिचित भीमेश्वरको नामबाट यस नगरपालिकाको नामकरण गरिएको हो । २५ औँ स्थापना दिवस समारोहमा नगरका प्रमुख प्रसाशकिय अधिकृत मान बहादुर खड्का जिल्ला प्रशासन कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटी, नेपाल जेष्ठनागरिक महासंघका अध्यक्ष एवम् कलाकार मदनदास श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेल, नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाले मनायाे २५ औं स्थापना दिवस"

Leave a comment

Your email address will not be published.


*