भीमेश्वर नगरपालिकामा सामाजिक प्रयोजनको लागि टोलटोलमा भवन निर्माण

ईश्वर बिश्वकर्मा–दोलखाका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछी सडक, अस्पताल, मठमन्दिर, खेलमैदान, पुल लगायतका भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । तर जिल्लाको भीमेश्वर नगरपालिकाले सामुदायिक भवन निर्माणलाई पनि विषेश महत्व दिएर काम गरिरहेको छ । सामुहिक गतिविधि सञ्चालन गर्न सहज हुने अभिप्रायका साथ हालसम्म लाखौं रुपैयाँ खर्च गरेर २२ वटा सामुदायिक भवन निर्माण गरिएको छ। २ लाख देखि २० लाखसम्म खर्च गरि सामुदायिक भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।व्यक्तिगत प्रयोजनको लागि नभई सामुहिक प्रयोजन र सहजताको लागि टोलटोलमा पक्की र बलियो संरचना सहित सामुदायिक भवन निर्माण गरिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले बताए । सामुदायिक भवनमा आमा समुह, कृषक समुह, वन उपभोक्ता समुह लगायतका समुहलाई बैठक, छलफल, गोष्ठी, तालिम लगायतका कार्यक्रम गर्न सहज भएको उनको भनाइ रहेको छ । साथै सामुहिक कार्यमा प्रयोग हुने सरसफाई तथा निर्माणका सामग्री सुरक्षित तवरले राख्न सहज भएको छ । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको साढे तिन बर्षको अवधिमा २२ वटा सामुदायिक भवन निर्माण भएका छन् । वडा नं. १ मा ३ , वडा नं. ४ मा ३, वडा नं. ५ मा ५, वडा नं. ६ मा ४, वडा नं. ७ मा ३ , वडा नं. ८ मा ३ र वडा नं. ९ मा ३ वटा सामुदायिक भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए । वडा नं. ७ मा अवस्थित चर्नावती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नेत्र बहादुर बस्नेतले सामुदायिक भवन निर्माण भएपछि वनको बैठक गर्न सजिलो भएको बताए । “ भवनमा नहुँदा व्यक्तिको घर त कहिले खुल्ला आकाशमुनि बैठक गर्नुपर्ने बाध्यता थियो । जसले गर्दा कहिलेकाहीँ समस्या हुन्थ्यो “ उनले भने “ अहिले सामुदायिक भवन निर्माण भएपछि व्यक्तिको घर वा खुला आकाशमुनि बैठक बस्नुपर्ने बाध्यताबाट मुक्त भईएको छ । सामुदायिक भवन निर्माण भएपछि स्थानीय बासिन्दा लाभान्वित भएको उनले बताए ।

चालु आवमा पनि निर्माण गरिने
भीमेश्वर नगरपालिकाका केहि वडाले सामुदायिक भवन निर्माण गर्ने भएका छन् । वडा नं. ४ जिलुको टहले र सापकोटा टोलमा गरी २ वटा सामुदायिक भवन निर्माण हुने बडाले जनाएको । दुबै भवनको निर्माण लागि ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । वडा नं. ५ स्थित माझ माटीमा ५ लाख रुपैयाँमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण गरिने वडाध्यक्ष रामचन्द्र बस्नेतले बताए । वडा नं. ९ मा २ वटा सामुदायिक भवन निर्माण गरिने जनाएको छ । ओख्रे सतिदेवी सामुदायिक भवन निर्माणको लागि ३ लाख रुपैयाँ र चित्रे सामुदायिक भवन तथा प्रतिक्षालय निर्माणको लागि ४ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ । केहि वडाले भने पुरा नभइसकेका पुरा गर्ने र केहि वडाले सामुदायिक भवन मर्मत सम्भार र व्यवस्थापित गर्ने जनाएका छन् । सामुदायिक भवन समुदायको सम्पत्तिभएकोले यसको रेखदेखका साथै संरक्षण सबै मानिसले गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा सामाजिक प्रयोजनको लागि टोलटोलमा भवन निर्माण"

Leave a comment

Your email address will not be published.


*