भीमेश्वर नगरपालिकामा एक वडा एक रिचार्ज पोखरी

ईश्वर बिश्वकर्मा/चरिकोट, असोज १८–दोलखाको भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्ष एक वडा एक पुनर्भरण अर्थात् रिचार्ज पोखरी निर्माण गर्ने भएको छ । वातावरण हराभरा पार्न, जलवायु परिवर्तनको असर न्युनिकरणका गर्न र स्थानीय बासिन्दा सहित वन्यजन्तु, चराचुरुङ्गीलाई समेत फाइदा पुग्ने गरी नगरको प्रत्येक वडामा १–१ वटा पुनर्भरण पोखरी निर्माण गर्ने भएको हो । ९ वटा वडा रहेको नगरपालिकामा ९ वटा नै पोखरी निर्माण हुने भएको छ । एक वडा एक पुनर्भरण पोखरी निर्माणको लागि ४ लाख रुपैँया रकम विनियोजन गरिएको नगर उपप्रमुख कमला बस्नेतले बताइन् । उनका अनुसार एक सामुदायिक वन एक पुर्नभरण पोखरी निर्माणको योजना रहेपनि त्यसको सट्टा एक वडा एक पुनर्भरण पोखरीको नीती लिइएको हो । सल्लाको रुख मात्र बढि भएकोले वन क्षेत्रको जमिन सुख्खा भएका छन् । जडिबुटी उम्रिएका छैनन् । त्यसैले जडिबुटी र अन्य रुख उम्रने वातावरण निर्माण गर्न वडाको वन क्षेत्रमा पुनर्भरण पोखरी निर्माण हुने छन् । कोरोना भाइरसले यो भन्दा विषम परिस्थिति निम्त्याएन भने चालु वर्ष भित्र नै पोखरी निर्माण गरिने योजना रहेको नगर उपप्रमुख बस्नेतले बताइन् । नगरको वडा नं. ३ र ६ का पर्ने खोरथली सामुदायिक वनमा भने पोखरी निर्माणाधिन अवस्थामा रहेको छ । जनसमुदायलाई अपनत्व महशुस हुने गरि वातावरण संरक्षणका लागि पोखरी निर्माणले सहयोग गर्ने नगरपालिकाको ठम्याई रहेको छ ।
वातावरण संरक्षण प्राथमिकता भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको लागि वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि १ करोड २ लाख ५० हजार रुपैँया विनियोजन गरेको छ । वन र वातावरण संरक्षण गर्ने उद्धेश्यसहित सामुदायिक वन व्यवस्थापन गर्ने, नियमन गर्ने, वन पैदावरमा आधारित व्यावसायिक खेति तथा उद्यम सञ्चालन गर्ने नीति लिएको छ । त्यस्तै जलवायु परिवर्तन असरहरुलाई न्युनिकरण तथा पारिस्थितिकीय प्रणालीहरु संरक्षण गर्दै जीविकोपार्जन सुधार कार्यक्रम गर्न बजेट विनियोजन गरको भीमेश्वर नगरपालिकाको कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा एक वडा एक रिचार्ज पोखरी"

Leave a comment

Your email address will not be published.


*