भीमेश्वर नगरपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ८
दोलखाको भीमेश्वर नगरपालिकामा नगर सचिवालयको रुपमा रहने गरी आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ ।
हुराडेक नेपालको समन्वय तथा युएनडीपीको आर्थिक सहयोग र नगरको व्यवस्थापनमा करिब ६ लाख लगानीमा केन्द्र स्थापना भएको हो ।

केन्द्र सञ्चालनमा आएको करिब तीन महिना बितेपनि उद्घाटन भने कार्तिक ५ गते गरिएको नगरले जनाएको छ । केन्द्रले नगर विपद् व्यवस्थापन समितिसँग मिलेर जोखिम तथा जोखिमयुक्त स्थानको पहिचान, विपद आउनुपूर्व सूचना सम्प्रेषण, विपद्सम्बन्धि तथ्याङ्क संकलन तथा आद्यविधिक लगायतका काम गर्ने नगर प्रमुख भरत केसीले बताउनुभयो ।
पहिरो, भुईँचालो, चट्याङ, आगलागी, दुर्घटना, असिना पानी लगायतको प्राकृतिक प्रकोपको जोखिममा रहेको नगरपालिका जोखिम पहिचान, न्यूनीकरण तथा विपद आइपरेमा प्रभावितको तत्काल खोजउद्धार र राहत उपलब्ध गराउन तयार रहेको छ ।
नगरपालिकाले स्थानीय तहको निर्वाचनसँगै जनप्रतिनिधि चुनिएर आएपछि विपद् व्यवस्थापनको लागि आवश्यक नीति, नियम बनाएर कार्यान्वयन गरिहेको छ । नगर प्रमुख केसीले स्थानीय तहको निर्वाचन अघि विपद् व्यवस्थापनमा कुनै काम नभएको तर आफू निर्वाचित भएर आएपछि यस विषयमा महत्वपूर्ण कार्य भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “विपद जोखिम प्रतिकार्यमा नगरको पूर्व तयारी जारी छ । यसका लागि विभिन्न टोली निर्माण गरी जनशक्तिको जिम्मेवारी तोकिएको छ । विपद् भएपछि खोजउद्धार तथा राहतका लागि समुदायसहित विभिन्न टोलीलाई कृत्रिम घटना अभ्यास तालिम, जनचेतनामूलक कार्यक्रम, सामग्रीको व्यवस्थापनका गरिएको छ ।”

नगरले चालु आवमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको कार्यक्रम तथा बजेट वक्तव्यमा उल्लेख गरेको छ । युवा परिचालनमार्फत विपद् व्यवस्थापन, वातावरण संरक्षण जस्ता कार्यक्रम सञ्चालन गरिने, नदीकटान नियन्त्रण र पहिरो नियन्त्रण गर्ने, खुला क्षेत्र पहिचान भएका स्थानमा र आवश्यक पूर्वाधार विकास गर्ने, आगलागीको जोखिमलाई मध्यनजर गरी व्यावासयिक घर, संस्थागत भवन र पसलहरुमा आगो निभाउने ग्यास राख्न लगाइने वक्तव्यमा उल्लेख गरिएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना"

Leave a comment

Your email address will not be published.


*