भीमेश्वर नगरपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक

SAMSUNG CSC

ईश्वर बिश्वकर्मा
चरिकोट, असार २८
दोलखाको भीमेश्वर नगरपालिकाले नगरसभाबाट पारित गरेको नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गत असार १० गते आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ९० करोड ७० हजार बजेट सहित प्रस्तावित नीति, कार्यक्रम र बजेट नगरसभामा पेश भएको थियो । प्रस्तावित उक्त कार्यक्रम तथा बजेट नगरसभाबाट पारित भएपछि सोमबार सार्वजनिक गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले बजेट तथा कार्यक्रमको पुस्तक र नगरका जनप्रतिनिधि, कर्मचारीहरूको विवरण सहितको डायरी सार्वजनिक गर्नुभयो । सो सन्दर्भमा उहाँले नगरमा कार्यक्रम कार्यान्वयनको पक्ष सबल हुनपर्ने बताउनुभयो ।  योजनाको सुरुवात गर्ने तर पूर्णतामा ध्यान नदिने, बजेट समयमै खर्च नगरी फिर्ता गर्ने प्रवृत्ति त्याग्नुपर्ने जोड दिँदै सुशासन र समृद्धिमा मनैदेखि लाग्न अनुरोध गर्नुभयो । उहाँले स्थानीय तहहरू संघ र प्रदेशको अनुदानमा निर्भर रहेको अवस्थामा आन्तरिक स्रोतलाई मजबुत बनाउन जनप्रतिनिधिहरूले सक्रियता र स्रोतको पहिचान गर्न आवश्यक रहेको सुनाउनुभयो । उहाँले बजेटको परिचालन र अधिकतम उपयोग गरिनुपर्ने बताउनुभयो ।
नगरप्रमुख ईश्वर नारायण मानन्धरले सीमित स्रोतसाधन र छोटो समयमा चरणबद्ध छलफल पश्चात बनाइएको मानवीय संवेदना र चाहना अनुरूपको योजनालाई आर्थिक वर्षको सुरुवातदेखि नै धमाधम कार्यान्वयन गरिने बताउनुभयो । नगरको समग्र विकासका लागि पूर्वाधार निर्माण, कृषि प्रविधिको प्रयोग गर्दै नगरका किसानको उन्नति, पशुपालनमा सहज सुविधा, आधुनिक शिक्षा, स्वास्थ्य नागरिक पहुँच, स्वरोजगार, साना तथा मझौला उद्योगको विकास र पर्यटनमा अब्बल भीमेश्वर बनाउन वार्षिक योजना तथा बजेटको प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँले चुनावताका गरेका प्रतिबद्धता र एजेन्डाहरूलाई समेत पूरा गर्ने गरी ल्याइएको कार्यक्रम र बजेटको कार्यान्वयनबाट नागरिकले नयाँ स्थानीय सरकारको महसुस नागरिकमा हुने बताउनुभयो । कार्यक्रममा नगरप्रमुख कमला बस्नेतले ऐन, नीति नियमको परिधिमा रहेर सात चरण र विभिन्न प्रक्रिया पूरा गरि तयार गरिएको नीति तथा कार्यक्रमले जनताको सुझाव र योजना समावेश गरिएको बताउनुभयो । उहाँले स्थानीय तहको पहिलो कार्यकालको झैँ दोस्रो कालको पहिलो वर्षमा पनि भौतिक पूर्वाधारलाई जोड दिदैँ आर्थिक, सामाजिक, पर्यटन विकासमा केन्द्रित नीति तथा कार्यक्रम निर्माण भएको बताउनुभयो । नगरपालिकाको संस्थागत सुदृढीकरण र सुशासन कायम राख्दै सेवा प्रवाहलाई निरन्तरता दिने उल्लेख गर्नुहुँदै नीति कार्यक्रम कार्यान्वयन गरिने उहाँले उल्लेख गर्नुभयो ।
नगरका पूर्व प्रमुख भरत केसीले आफ्नो कार्यकालमा नागरिकको आवश्यकता परिपूर्ति गर्ने र समृद्ध भीमेश्वर निर्माण गर्ने अभियानमा समेत सहभागी हुँदै लक्ष्य प्राप्तिका लागि देशव्यापी चर्चा पाउने गरी काम गरेको सुनाउनुभयो । उहाँले आफ्नो कार्यकालमा सुरुवात गरेको योजना पूर्णता दिने र नयाँ योजनालाई सुरुवात गर्ने गरी ल्याएको आगामी वर्षको नीति कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*