भीमेश्वर नगरपालिकाको बजेट ९० करोड ७० हजार

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १०
दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ९० करोड ७० हजार अनुमानित बजेट सार्वजनिक गरेको छ । स्थानीय तहको दोस्रो निर्वाचन पश्चातको प्रथम नगरसभामा उपप्रमुख कमला बस्नेतले समृद्ध भीमेश्वर, पौरखी भीमेश्वरवासीको नारालाई सफल पार्ने उद्देश्य सहित उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।
उहाँले समृद्धि र दिगो विकासको लक्ष्य प्राप्त हुने क्षेत्रमा सदुपयोग गर्ने गरी सार्वजनिक गरिएको बजेटले जनमुखी रहेको उल्लेख गर्नुभयो । संघ, प्रदेशबाट प्राप्त अनुदान र आन्तरिक स्रोतलाई समेत दृष्टिगत गरी सार्वजनिक गरिएको बजेटमा शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन लगायत भौतिक पूर्वाधारलाई विषेश प्राथमिकता दिईएको छ ।
नगरपालिकाको बजेटमा ठूलो स्रोत संघ तथा प्रदेशबाट उपलब्ध हुने अनुदान नै हो । नगरमा सङ्घबाट वित्तीय समानीकरण अनुदान १८ करोड ७० लाख, सशर्त अनुदान ३७ करोड ६४ लाख, बागमती प्रदेशबाट समानीकरण अनुदान एक करोड ८६ लाख ५५ हजार,  सशर्त अनुदान दुई करोड ७६ लाख ५० हजार, समपूरक अनुदान दुई करोड ९८ लाख ६५ हजार आय प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी राजस्व बाँडफाँडबाट संघीय सरकारबाट दश करोड २८ लाख ६२ हजार र बागमती प्रदेशबाट पाँच करोड ६१ लाख ९८ हजार पनि पालिकाको बजेटमा समावेश गरिएको छ ।
पालिकाले आर्थिक विकासमा छ करोड ६८ लाख, सामाजिक विकासमा ३५ करोड १५ लाख २३ हजार विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासमा ३४ करोड ३१ लाख २३ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा तीन करोड १ लाख ६२ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा दश करोड ८४ लाख ६२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले सबैभन्दा बढी शिक्षा क्षेत्रमा २५ करोड ५१ लाख १४ हजार अर्थात कुल बजेटको २८ दशमलव ३४ प्रतिशत विनियोजन गरेको छ । त्यस्तै भवन तथा सहरी विकास तर्फ २१ लाख ९३ लाख ८१ हजार अर्थात २४ दशमलव ३७ प्रतिशत, सडक तथा पुल तर्फ नौ करोड ७ लाख ६७ हजार रुपैयाँ अर्थात १० दशमलव ८ प्रतिशत, स्वास्थ्य क्षेत्रका लागि पाँच करोड ७४ लाख ८३ हजार अर्थात ६ दशमलव ३९ प्रतिशत बजेट विनियोजन गरेको छ ।
“रोको विदेश जान, खोलौँ आफ्नै कारखाना” भन्ने नारा सहित उद्योग, वाणिज्य रोजगारतर्फ तीन करोड ६ लाख, पर्यटक हाम्रा पाहुनाः नगर समृद्धिको गहना भन्ने मुल नारासहित पर्यटन विकास र विस्तारका लागि पर्यटन क्षेत्रमा दुई करोड ९२ लाख ७५ हजार, कृषि क्षेत्रतर्फ दुई करोड ८२ लाख ५० हजार पशु विकास तर्फ एक करोड ३५ लाख,  खानेपानी सरसफाइका लागि एक करोड ३९ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि एक करोड ५६ लाख ९१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पालिकाले सिँचाइका लागि ७० लाख ५० हजार,  सहकारी तथा वित्तीय संस्था क्षेत्र तर्फ ३४ लाख, भाषा संस्कृति तथा ललितकला संरक्षण र प्रवर्द्धनमा २४ लाख,  खेलकुद तथा मनोरञ्जन तर्फ २४ लाख, उर्जा विकास तर्फ १४ लाख, सूचना तथा सञ्चार प्रविधितर्फ २८ लाख, विपद् व्यवस्थापनतर्फ ३९ लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी संगठन तथा संस्थागत क्षमता विकास र सुशासनका लागि नौ लाख ५० हजार, नागरिक सन्तुष्टि तथा सामाजिक उत्तरदायित्व तर्फ २१ लाख, न्यायमा पहुँच तथा सामाजिक न्यायका लागि १२ लाख ६२ हजार लगायतका शीर्षक बजेट विनियोजन गरिएको पालिका उपप्रमुख कमला बस्नेतले बताउनुभयो । बजेटलाई सहभागितामूलक बनाउन सरोकारवालासँग छलफल गरिएको र कानुनी व्यवस्थालाई दृष्टिगत गरी विभिन्न चरणहरू पूरा गरी बजेट परिपक्व र आकर्षक निर्माण गरिएको उहाँले दाबी गर्नुभयो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाको बजेट ९० करोड ७० हजार"

Leave a comment

Your email address will not be published.


*