भीमेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गासम्बन्धी उजुरी धेरै

चरिकोट –दोलखाको भीमेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा सम्बन्धी विवादका उजुरी धेरै दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि असारसम्म ८८ ओटा उजुरी दर्ता भएकोमा सबैभन्दा धेरै जग्गा सम्बन्धी उजुरी रहेका छन् । समितिमा १६ ओटा जग्गा सम्बन्धी उजुरी दर्ता भएको न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख कमला बस्नेतले बताइन् । उनका अनुसार समितिमा साँधसिमाना सम्बन्धी, पारिवारिक विवाद, गालीबेइजती, माना चामल, लेनदेन, बाली नोक्सानी लगायतका उजुरी पर्ने गरेका छन् । चालु आवको असारसम्ममा लेनदेनका नौ, ढल व्यवस्थापन सम्बन्धी आठ, पारिवारिक विवादका सात, गालीबेइजती सात, साँधसिमाना छ, बाली नोक्सानी सम्बन्धमा दुई, मानाचामल सम्बन्धी एक, अंश भोगचलनमा एक, पतिपत्नी मिलन गरी पाउँ भनी एक, खानेपानीको पाइप क्षति सम्बन्धी एक र घर बहाल सम्बन्धी एक ओटा उजुरी दर्ता भएका थिए । ति मध्ये अधिकांश उजुरी मेलमिलाप गरी फछ्र्यौट गरिसकिएको छ । भने बाँकी प्रक्रियामा रहेका न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख बस्नेतले बताइन् । मुद्धाका विपक्षहरुलाई बहसमा उपस्थित गराउन कठिनाई हुने, लेनदेनको उजुरीमा मेलमिलाप गराउन कठिनाई, मिलापत्र कार्यान्वयनमा समस्या हुने जस्ता न्यायिक समितिका लागि चुनौती हुने गरेको छ । यद्यपी चुनौतीको सामना गरी उजुरी फछ्र्याैटमा सफलता मिलेको न्यायिक समितिको दाबी रहेको छ । सुरुका वर्षमा न्यायिक समितिप्रति नागरिकहरुले विश्वास गरेका थिएनन् तर केही वर्षयता भने न्यायिक समितिबाट छिटो, सस्तो र सहज न्याय पाउनेमा नागरिकहरुको विश्वास बढ्दै गएको छ । स्थानीय तहका विवादित मुद्धाहरु स्थानीय स्तरमै मेलमिलाप तथा समाधान होस् भन्ने उद्धेश्यका न्यायिक समिति गठन गरिएको हो ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गासम्बन्धी उजुरी धेरै"

Leave a comment

Your email address will not be published.


*