भीमेश्वरमा विपद व्यबस्थापन सम्बन्धी परियोजना सुरु

चरिकोट, (दीस) –बृहत्तर विपद् जोखिम व्यबस्थापन कार्यक्रम (सिडिआरएमपी) परियोजनाको परिचयात्मक कार्यक्रम शुक्रबार भीमेश्वर नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले शहरी क्षेत्रको विपद जोखिम व्यबस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । कृत्रिम घटना अभ्यासको माध्यमबाट समुदायमा सचेतना प्रदान गर्नुका साथै विद्यालय स्तरमा गठन भएका स्काउट तथा राष्ट्रिय स्वयंसेवक दललाई समेत परिचालन गरि सन्देश पंवाह गर्न पाण्डेले सुझाव दिनु भएको छ । ‘नगरपालिकासँगको समन्वय गरी काममा दोहोरोपना आउन नदिन र आगामी दिनमा नगरपालिकाको आवधिक योजना तथा नीति कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने गरी कार्यक्रम तथा बजेट तयार गर्नुहुन म सबै साझेदार संघ संस्थालाई सुझाव दिन्छु ।’ उहाँले भन्नुभयो, ‘देश सम्पन्न र सम्बृद्ध भइनसकेको अहिलेको अवस्थामा हाम्रा लागि गैर सरकारी संघ संस्थाको सहयोग चाहिन्छ । बरु एउटै कामका लागि धेरै वटा संस्थाले बजेट खर्च गर्न अवस्था आउन नदिन हामी सचेत हुनुपर्छ ।’
नगर प्रमुख भरतबहादुर के.सी.ले नगरपालिकाको विपद व्यबस्थापन सम्बन्धी रणनीतिक योजना बनिसकेको र त्यहि योजना कार्यान्वयनका लागि सहयोगको अपेक्षा गरिएको बताउनुभयो । ‘विपद व्यबस्थापनको क्षेत्रमा सहयोग गर्ने संघ संस्थालाई नगरपालिकाको रणनैनिक योजनामा समावेश भएका कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने गरी बजेट कार्यक्रम तयार गर्नुहुन अनुरोध गर्दछु ।’ उहाँले भन्नुभयो, ‘चरिकोट आसपास र केहि साना बजारबाहेक भीमेश्वर नगरपालिका गाउँपालिकाभन्दा कम छैन । बिगतमा संघ स.स्थाहरुले नगरपालिका भएकै कारण भीमेश्वरमा कार्यक्रम नैं सञ्चालन गर्नु भएन । विपद व्यबस्थापनका लागि आएको यस कार्यक्रमले पुरै नगरपालिका समेटेर कार्यक्रम गर्छ र अरु कार्यक्रम पनि आउनेछन् भन्ने अपेक्षा छ ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले मागमा आधारित कार्यक्रम तथा बजेट निर्माण गर्न संघ संस्थालाई सुझाव दिनुभयो । नगरपालिकाको दमकल बिग्रेको तीन महिनाभएको तर बनाउन नसकिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘दमकलको पम्प बनाउनका लागि मात्रै ५ लाख रुपैंयाँ लाग्ने रहेछ त्यसका लागि हामीसँग बजेट छैन । हामी चाहन्छौं साझेदार संस्थाहरुले त्यो दमकल बनाएर पुनः प्रयोगमा ल्याउन सहयोग गर्नुहोस् ।’नगरबासीमा सचेतना बढाउनुका साथै मुख्य चोकहरुमा पानीको पम्प स्थापना र सञ्चालनका लागि सहयोग गर्ने कार्यक्रमको खाँचो रहेको अधिकृत खड्काले बताउनुभयो ।

नेपाल सरकारको विपद जोखिम व्यवस्थापन सम्बन्धीको राष्ट्रिय रणनीति कार्यान्वयनमा सहयोग गर्नका लागि युएनडिपीले सिडिआरएमपी परियोजना सुरु गरेको कार्यक्रम संयोजक सुशान्त शर्माले जानकारी दिनुभयो । परियोजनामार्फत बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धि गरिने उहाँको भनाइ छ ।
छनौट भएका उच्च जोखिममा रहेका शहरी क्षेत्रका समुदाय तथा स्थानीय तहमा विपद जोखिमबारे बुझाइमा अभिवृद्धि गर्ने, प्रभावकारी आकस्मिक प्रतिकार्य तथा ब्यबस्थापनका लागि सबै तहमा प्रणाली सुदृढ गर्ने र प्रभावकारी आकस्मिक प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तह तथा समुदायमा विपद् पुर्वतयारीमा वृद्धि गरिने प्राविधिक अधिकृत भेषबहादुर पराजुलीले जानकारी दिनुभयो ।
कार्यक्रमका सहभागीले पूर्वतयारी तथा सचेतनाका कार्यक्रमसँगै दक्ष जनशक्ति तयारी र विपद पछिको राहत तथा पुननिर्माणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । जिल्ला रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण पोखरेलले प्राथमिक उपचार सम्बन्धीका तालिम सञ्चालन र राहत सामाग्रीहरु जगेडा राख्नका लागि सुझाव दिनुभयो । आरआरएनका जिल्ला संयोजक टंक उप्रेतीले स्थानीय तहहरुले विपद व्यबस्थापनका क्षेत्रमा बजेट बिनियोजन गरेर संस्थागत गर्ने प्रयास गरेकोमा प्रशंसा गर्दै स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न सुझाव दिनुभयो ।
सामुदायिक विकास मञ्च नेपालले नगरपालिकाको १, २, ४, ५ र ७ नम्बर वडामा लक्षित समुदाय र स्थानीय पदाधिकारीहरुको शहरी क्षेत्रहरुमा बहुप्रकोप जोखिम तथा संकटासन्नता सम्बन्धीको बुझाईमा अभिबृद्धि तथा नगरपालिकाको जोखिमको जानकारी सहितको विकास योजना निर्माणमा सहजिकरण सम्बन्धी कार्यका लागि २९ लाख २० हजार रुपैंयाँ खर्च गर्ने जनाएको छ । हुराडेक नेपालले वडा नम्बर ३ र ६ मा बहुप्रकोप जोखिम तथा संकटासन्नता सम्बन्धीको बुझाईमा अभिबृद्धि, विपद् जोखिम व्यवस्थापनको लागि भुकम्प प्रभावित समुदायलाई सशक्तिकरण गर्दै प्रतिकार्य तथा उत्थानशिल योजना तर्जुमा गर्नमा सहजिकरण गर्नरसमुदाय तथा नगरपालिकामा विपद् पूर्वतयारीमा सवलिकरण गर्नएक करोड एक लाख ५५ हजार रुपैंयाँ खर्च गर्ने जनाएको छ ।
युरोपेली युनियनको नागरिक संरक्षण तथा मानवीय साहयता सञ्चालन विभागको आर्थिक तथा युएनडिपीको प्राविधिक सहयोगमा हुराडेक नेपाल र सिडिएफ नेपालले भीमेश्वर नगरपालिकाका परियोजना कार्यान्वयन गर्न लागेका हुन् । सम्भावित विपद् जोखिम, जोखिम बुझाईको संस्थागत विकास र समावेशी तथा सहभागितामूलक विधी अवलम्वन गरी स्थानीय निकाय तथा समुदायको मजबूत आकस्मिक प्रतिकार्य क्षमताका माध्यमबाट शहरी उत्थानशिलतामा अभिवृद्धि गर्ने उद्धेश्यले परियोजना सञ्चालन गर्न लागिएको युएनडिपीले जानकारी दिएको छ ।कार्यक्रममा नगरकार्यकालिकाका सदस्यहरु, नगर विपद व्यबस्थापन समितिका सदस्यहरु, विपद सम्बन्धीका जिल्ला तथा नगरस्तरीय सरकोरवालाहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "भीमेश्वरमा विपद व्यबस्थापन सम्बन्धी परियोजना सुरु"

Leave a comment

Your email address will not be published.


*