भिमेश्वर नगरपालिकाद्धारा ८६ करोड ७३ लाखको बजेट प्रस्तुत

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १०
दोलखाको भीमेश्वर नगरपालिकाले ८६ करोड ७३ लाख ४८ हजार रुपैँयाको बजेट विनियोजन गरेको छ ।
भीमेश्वर नगरपालिकाको भीमेश्वर सदनमा बुधबार भएको सातौँ सभामा नगरकी उपप्रमुख कमला बस्नेतले आर्थिक बर्ष २०७७÷०७८ का लागि ८६ करोड ७३ लाख ४८ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्षको लागि पुँजीगत तर्फ ७८ करोड ८ लाख ४८ हजार, चालुतर्फ ८ करोड ५० लाख र वित्त व्यवस्थापन तर्फ १५ लाख गरि ८६ करोड ७३ लाख ८८ हजार रुपैँया बजेट विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताइन् । नगरले प्रस्तुत गरेको बजेटमा संघिय सरकारको अनुदान ५६ करोड ५७ लाख, बागमति प्रदेशबाट प्राप्त ८ करोड ६९ हजार रहेको छ । त्यसैगरि नगरले  स‌ँघिय राजस्व बाँडफाँडबाट ८ कराेड तथा बागमती प्रदेश राजस्व बाँडफाँडबाट ३ करोड २४ लाख ५३ हजार  आन्तरिक आयबाट १० करोड ४८लाख ६ हजार ६सय ५० रुपैँया समावेश गरेकाे छ ।
शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट
नगरले सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रको लागि विनियोजन गरेको छ । जसतर्फ २३ करोड ५४ लाख १ हजार रुपैँया विनियोजन गरेको छ ।
नगरले चिकित्साशास्त्रमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीहरुका लागि प्रोत्साहन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ । ‘नगरवासीको एउटै इच्छा, जीवनउपयोगी र आत्मनिर्भर शिक्षा’ भन्ने नाराका साथ सबै बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने, विद्यालयमा टिकाई राख्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, आधारभुत सम्मका विद्यार्थीलाई पोशाक वितरण गर्न बजेट विनियोजन गरेको छ ।
त्यस्तै स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने, भीमेश्वर नगरपालिकाको क्याम्पासलाई जिल्लाकै शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने पुर्वाधार निर्माण कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रमहरुमा बजेट विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताईन् ।
स्वास्थ्य क्षेत्रमा ६ करोड २४ लाख
नगरवासीलाई स्वस्थ बनाउन र गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने नगरको नीति अनुरुप आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ६ करोड २४ लाख ६ हजार रुपैँया विनियोजन गरिएको छ ।
स्वास्थ्य क्षेत्रका लागि जनशक्ति उत्पादन, एक विद्यालय एक नर्स, स्वास्थ्य क्षेत्रमा प्रतिकारात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक र निरोधात्मक प्रकृतिका सबै कार्यक्रमका लािग बजेट विनियोजन गरिएको छ । त्यस्तै प्रस्तावित चरिकोट अस्पतालको भौतिक पुर्वाधार विकासका लागि बजेटमा समेटिएको छ ।
त्यसैगरि नगरले कृषिलाई पनि प्राथमिकतामा राखेको छ । कृषिबाली तथा पशुपालन र सिँचाई क्षेत्रमा ४ करोड ५६ लाख ८५ हजार रुपैँया बजेट विनियोजन गरेको छ । ‘रोकौ विदेश जान, खोलौँ आफ्नै कारखाना’ भन्ने नीतीलाई कार्यान्वयनका उद्योग, वाणिज्य र बजार व्यवस्थापनका लागि १ करोड ९६ लाख २० हजार रुपैँया विनियोजन गरिएको नगरपालिकाकी उपप्रमुख बस्नेतले बताइन् । त्यसैगरि आगामी आर्थिक वर्षमा पर्यटनलाई पनि विकास गरिने भएको छ । नगरले पर्यटन मार्फत नगरलाई सम्बृद्ध बनाउन ३ करोड ८० लाख रुपैँया बजेट विनियोजन गरेको छ । ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिई खानेपानी तथा सरसफाइ क्षेत्रमा १ करोड ३१ लाख ५० हजार रुपैँया विनियोजन गरिएको उनले बताइन् ।
युवा तथा खेलकुद तथा मनोरञ्जनका लागि ३२ लाख ९० हजार, भाषा, संस्कृति तथा ललितकलाको संरक्षण तथा प्रर्वद्धनका लागि ९० लाख, लैङ्गिक समनता, सामाजिक समावेशिकरण तथा सामाजिक सुरक्षा शिर्षकमा १ करोड २८ लाख ८६ हजार विनियोजन गरिएको प्रस्तुत बजेट वक्तव्यमा जनाइएको छ । त्यस्तै सडक पुर्वाधार तर्फ ९ करोड ३० लाख ५ हजार, भवन तथा सहरी विकास तर्फ २१ करोड ८७ लाख, सुचना, सञ्चार तथा विज्ञान प्रविधी तर्फ १४ लाख, उर्जा तथा सडक बतीका लागि ८६ लाख रुपैँया विनियोजन गरिएको छ । ‘एक वडा, एक पुनर्भरण पोखरी निर्माण’ गर्ने लगायतको कार्यक्रम सहित वन, वातावरण, तथा विपद् व्यवस्थापनमा १ करोड २ लाख ५० हजार,सहकारी क्षेत्रका लागि १२ लाख,
र सुशासन, संस्थागत विकास र सेवा प्रवाहका लािग ९ करोड ४७ लाख ५५ हजार बजेट विनियोजन गरेको छ ।

Shares

Be the first to comment on "भिमेश्वर नगरपालिकाद्धारा ८६ करोड ७३ लाखको बजेट प्रस्तुत"

Leave a comment

Your email address will not be published.


*