दाेलखा भीमेश्वरको शिलामा पसिना आयो

दीक्षण समाचार
चरिकोट, बैशाख २५

दोलखा –प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा शनिबार मध्यान्हदेखि करिब डेढ घण्टासम्म लगातार पसिना आएको छ । भविष्य द्रष्टाको रुपमा चिनिने दोलखा भीमेश्वरको शिलामा मध्यान्ह सवा १२ बजेदेखि साँढे १ बजेसम्म पसिना आएको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएकोले भीमश्वर लगायतका मन्दिरहरुमा नियमित पूजाआजा मात्रै चलिरहेको छ । सोही नियमित पूजाआजाको क्रममा मन्दिरका टहलुवा काशीनारायण श्रेष्ठले शिलामा पसिना आएको देखेपछि पूजारी तथा गुठियारहरुलाई खबर गरेका थिए । भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिरका सबै घण्टा, नगरा बजाएर पसिना आएको जानकारी स्थानीयलाई दिइएको थियो । मन्दिरका पुजारी र गुठियारहरुले शिलालाई चमरले हम्किए, डमरु बजाए, बाजागाजा बजाए र भीमेश्वरलाई कष्ट नहोस् भन्ने कामना गरे । पसिना आएको खबरपछि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, तारादल गणका गणपति अनिल केसी, प्रहरी नायव उपरीक्षक भेषराज रिजाल, सशस्त्र प्रहरी नायव उपरीक्षक बुद्धिनारायण महर्जन, प्रमुख अनुसन्धान अधिकृत राजन शर्मा लगायतको सुरक्षा टोली भीमेश्वर मन्दिर पुगेको थियो ।भीमेश्वरको शिलामा पसिना आएपछि दीक्षा प्राप्त गरेको व्यक्तिले विधिपूर्वक पूजाआजा गरी पसिना कपासले पुछ्नुपर्ने प्रचलन छ । प्रचलनअनुसार विधिपूर्वक पूजा गरी पुछिएको कपास मन्दिरमा आएका भक्तजनहरुलाई बाँडिएको थियो ।भीमेश्वरलाई पसिना आउँदा गाढा कालो रङको शिला फुस्रो रङमा परिणत हुन्छ । शिलामा पसिनाको मसिना दाना देखिन्छ । विस्तारै पसिनाको मसिना दाना ठुलो हुँदै जान्छ, ती पसिनाका दानाहरु एकापसमा जोडिन्छन् र बग्न थाल्दछ ।भीमेश्वरको शिलामा आएको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनुपर्ने प्रावधान छ । यसरी राष्ट्रपति कार्यालयमा प्रसादको रुपमा कपास पठाएपछि त्यहाँबाट क्षमापूजा पठाइने प्रचलन छ । विधिपूर्वक सो क्षमापूजा गरेपछि संकट टर्ने जनविश्वास छ । राष्ट्रपति कार्यालयमा भोलि प्रसाद पठाइने कुरा प्रमुख जिल्ला अधिकारी वासुवेद घिमिरेले बताए । नेपालमा गणतन्त्र स्थापना हुनुपूर्व भने राजदरवारमा सो प्रसाद पठाउने प्रचलन थियो ।भीमेश्वरको शिलालाई पसिना आउदा हरेक पटक मुलुकमा कुनै न कुनै ठुलो तथा राष्ट्रिय घटना भएको दावी स्थानीय वयोबृद्धहरुको छ । भीमेश्वरलाई आउने पसिना राष्ट्रमा हुने परिवर्तनकारी घटनाको पूर्वसंकेत भएको मानिन्छ ।भीमेश्वरको शिलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको, १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँसी दिएको, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको, २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको, २०१८ सालमा पसिना आउँदा देशमा ठूलो बाढीपहिरो आएको स्थानीय स्मरण गर्दछन् । त्यसैगरी २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको, २०३५ सालमा पसिना आउँदा जनमत संग्रह भएको, २०४५ साल चैत्रमा पसिना आउँदा भूकम्प गएको, २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ सालमा दरवार हत्या काण्ड भएको पनि उनीहरु सम्झिन्छन् । त्यस्तै २०६१ फागुनमा पसिना आउँदा २०६२ सालमा जन आन्दोलन भएको र २०६४ साल जेष्ठ ५ गते पसिना आउँदा राजतन्त्रको अन्त्य भएको उनीहरु बताउँछन् । त्यसैगरी पछिल्लोपटक २०७० साल मंसिर र फागुन १३ गते र २०७४ असोज १० गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो । २०७६ फागुन ७ गते पनि भीमेश्वरलाई पसिना आएको थियो । यसअघि २०७७ साल मंसिर ९ गते पनि पसिना आएको थियो ।

Shares

Be the first to comment on "दाेलखा भीमेश्वरको शिलामा पसिना आयो"

Leave a comment

Your email address will not be published.


*