भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी

नयाँदिल्ली, ३२ साउन (रासस÷एएनआई) ःभारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ९७३ जना नयाँ सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८१ हजार ९४७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जनाएको छ । यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१८ प्रतिशत हो । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख २५ हजार ५१३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३५ हजार ९०९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १४ लाख ११ हजार ९२४ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९७.४८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या चार लाख ३१ हजार ६४२ रहेको छ भने तीमध्ये ४१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यही अगस्त १५ सम्ममा भारतमा ४९ करोड ४८ लाख पाँच हजार ६५२ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये ११ लाख ८१ हजार २१२ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो । –––

Shares

Be the first to comment on "भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी"

Leave a comment

Your email address will not be published.


*