भारतमा इतिहासकै ठूलो पानी संकट ! ६० करोड भारतीय पानीको चरम अभावमा

बीबीसी । भारतले अहिले इतिहासकै ठूलो जल संकटको सामना गर्नुपरिरहेको छ । सरकारी निकायले हालै सार्वजानिक गरेको सर्वेक्षण अनुसार ६० करोड भारतीयहरु यसैका कारण पानीको चरम अभावमा बाँचिरहेका छन् ।

भारतको २९ प्रदेश मध्ये २४ मा आगामी वर्षहरुमा पानीको समस्या झन् झन् वृद्धि हुँदै जाने बताइएको छ भने आउँदो २०२० सम्ममै २१ प्रमुख शहरहरुले जमिन मुनिको पानी समाप्त हुने चेतावनी पाइसकेको छ । जनसङ्ख्या वृद्धिका कारण पानीको बढ्दो मागले भारतमा अब खाद्य उत्पादनमा समेत प्रभाव पार्ने बताइएको छ किनकी कृषि क्षेत्रमा मात्र ८० प्रतिशत पानी प्रयोग हुने गरेको छ । अहिले पनि गर्मीयाम सुरु भएसँगै थुप्रै शहरमा मानिसहरु नियमित पानीको अभाव सहेर बस्न बाध्य छन् ।

उता ग्रामीण क्षेत्रहरुमा पनि स्वस्थ खानेपानीको चरम अभाव हुने गरेको छ जसकारण हरेक वर्ष २ लाख बढी मानिसहरुको मृत्यु हुने गरेको रिपोर्टले देखाएको छ । सफा पानीको पहुँच नहुँदा विभिन्न रोगको शिकार बन्ने भएकाले लाखौँ मानिसहरु नराम्ररी प्रभावित हुने गरेका छन् । अर्कोतर्फ अनियमित वर्षाका कारण पनि उनीहरु जमिनमुनिको पानीमा निर्भर रहन सक्दैनन् र पछिल्ला केही वर्षमा खेतीपातीका लागि समेत त्यही पानी बढी प्रयोग हुने गरेको हुँदा जमिन मुनिको पानी समेत सुक्ने जोखिम रहेको बताइएको छ ।

शहरीकरणका कारण खानेपानी व्यवस्थापनको दबाब पनि सरकारी निकायले उत्तिकै खेप्ने गरेका छन् । रिपोर्टका अनुसार यसै दरमा यो समस्या जारी रहने हो भने २०३० सम्ममा अहिलेको भन्दा दोब्बर माग वृद्धि हुनेछ । तर भारतमा त्यस्ता प्रदेशहरु पनि छन् जसले निकै प्रभावकारी तरिकाले खानेपानीको व्यवस्थापनमा गरि अन्य देशहरुका लागि समेत उदाहरणीय बनेका छन् । यसमा सबैभन्दा पहिले पश्चिमको गुजारात, त्यसपछि मध्य प्रदेश र आन्द्र प्रदेश पर्दछन् जहाँ खानेपानीको व्यवस्थापन सबैभन्दा राम्रो स्थितिमा रहेको पाइन्छ । तर उता उत्तरप्रदेश, हरियाणा, बिहार र पूर्वमा झारखन्ड जस्ता प्रदेशहरुमा भने यो विषय गम्भीर बनिसकेको छ जहाँ आधा भन्दा बढी जनसङ्ख्याको वासस्थान छ भने कृषिजन्य उत्पादनका लागि समेत जिम्मेवार रहेको छ ।

Shares

Be the first to comment on "भारतमा इतिहासकै ठूलो पानी संकट ! ६० करोड भारतीय पानीको चरम अभावमा"

Leave a comment

Your email address will not be published.


*