भलिबल प्रतियोगिताले दशैँ ‘रोमाञ्चक’

इश्वर बिश्वकर्मा
चरिकोट, असोज २६
दोलखाको गौरीशंकर गाउँपालिका–३ नागकुसे खाडीको चौरमा साविकको झ्याँकु गाविस वडा स्तरीय अन्तर वडा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । दशैँको उपलक्ष्यमा नव प्रगतिशील युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको माओवादी नेता निमा लामाले उद्घाटन गर्नुभएको थियो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नारा सहित दशैँलाई रोमाञ्चक बनाउन प्रतियोगिता गरिएको क्लबका सचिव कविन्द्र खड्काले बताउनुभयो ।
यहाँ खेलकुद गतिविधि सञ्चालन गर्न मैदानको अभाव थियो । तर वडाले गत वर्ष खेल क्षेत्रमा युवा प्रोत्साहनको लागि बजेट छुट्याएरै घाँसे चौरलाई व्यवस्थित गरी खेल मैदानमा रुपान्तरण गरिदिएको छ । नवनिर्मित मैदानमा दशैँको रौनकतासगैँ खेलले थप रोमाञ्चक बनाउने भएकोले प्रतियोगिता गरिएको सचिव खड्काले सुनाउनुभयो ।

“दशैँमा चङ्गा उडाउने, पिङ खेल्ने लगायतबाट मनोरञ्जन लिने चलन छ । अब यो सगैँ गाउँटोलमा दशैँको बेला खेलकुद प्रतियोगिता हुनु पनि संस्कृतिको रुपमा स्थापित हुदैँ गएको छ ।” उहाँले भन्नुभयो “सोही संस्कृति अनुसरण हामीले पनि गरेका हौँ । प्रतियोगितामा खेलाडीहरुको सहभागिताबाट हामी अत्यन्तै उत्साहित भएका छौँ । यसले खेल क्षेत्रमा भविष्य देख्ने युवाहरु बढ्न थालेको पुष्टि गर्दछ । सरकारले बेलैमा यस्ता प्रतिभाको पहिचान र प्रोत्साहन गरोस् ।”

उहाँका अनुसार प्रतियोगितामा साविक झ्याँकु गाविसको वडाहरुका १२ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने विजयी समुहलाई १२ हजार, द्धितीय हुने समुहलाई आठ हजार, तृतीय हुनेलाई चार हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिता २८ गतेसम्म चल्ने उहाँले बताउनुभयो ।

नागकुसे खाडीको चौर खेल मैदान गत आर्थिक वर्ष २०७७÷०७८ मा स्थानीयको श्रमदान सहित १ लाख रुपैयाँमा निर्माण गरिएको हो । खेल मैदान निर्माण भएपछि यहाँ खेल प्रशिक्षण गर्न र प्रतियोगिता आयोजना गर्न सहज भएको खेलप्रेमी युवाहरुले बताएका छन् ।

Shares

Be the first to comment on "भलिबल प्रतियोगिताले दशैँ ‘रोमाञ्चक’"

Leave a comment

Your email address will not be published.


*