भदौ ६ गतेसम्म एकहप्ता दोलखा जिल्लाभर लकडाउन

साउन ३०, चरिकोट । जिल्ला संकट व्यवस्थापन समिति दोलखाले शुक्रबार रातीबाट भदौ ६ गतेसम्म एकहप्ता दोलखा जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ ।

उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकाको दुईजनामा कोरोना संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङले शुक्रबार थप ५ जनामा कोरोना संक्रमण भेटिएको पछि बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले एकहप्ता जिल्लाभर लकडाउन गर्ने घोषणा गरेको हो ।

संक्रामक रोग ऐन, २०२० को दफा २ को अधिकार प्रयोग गरी दोलखा जिल्लाभर साउन ३० गते राती १२ बजेटबा भदौ ६ गते राती १२ बजेसम्मको लागि लकडाउन गरिएको प्रजिअ शर्माले बताए ।

कोरोना भाईरस संक्रमितसँगको सम्पर्कमा पुगेकाहरुको खोजी, पूर्व सर्तकता र थप फैलन नदिनको लागि हप्ताभर लकडाउन गर्ने निर्णय गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

एम्बुलेन्स र दमकल बाहेकका सबै सरकारी तथा गैरसरकारी सेवा, विद्यालय, बजार, निजी तथा सार्वजनिक यातायात लगायत सबै प्रकारका सेवाहरु एकहप्ताको लागि लकडाउन गरिएको प्रजिअ शर्माले बताए । तर खाद्यन्न, तरकारी र दुग्धजन्य पसलहरु भने विहान १० बजेसम्म खोल्न पाइने छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रामक रोग भएको कारण सबैलाई लकडाउनको उच्च पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह समेत गरेका छन् ।

लकडाउनको उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ अनुसार एकमहिनासम्म कैद वा रु. १०० जरिवाना गरिने समेत प्रजिअ शर्माले जानकारी दिए ।

संक्रमितको सम्पर्कमा पुगेका ८३ जनाको स्वाब संकलन गरि धुलिखेल अस्पतालमा परीक्षण गर्दा शुक्रबार एकमहिला र ४ पुरुष गरी ५ जनामा कोरोना संक्रमण देखिए पछि थप सतर्कताको लागि लकडाउन गर्नु परेको प्रशासनको भनाई छ ।

हालसम्म जिल्लाका ५३२ जनाको पीसीआर परीक्षण गर्दा २ महिलासहित ११ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

Shares

Be the first to comment on "भदौ ६ गतेसम्म एकहप्ता दोलखा जिल्लाभर लकडाउन"

Leave a comment

Your email address will not be published.


*