ब्यवस्थित बन्दै चरिकोट कालिञ्चोक सडक


चरिकोट(दीस) ः दोलखाको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक पुग्ने चरिकोट–कालिञ्चोक सडक ब्यवस्थित बन्दै गएको छ । सडकको स्तरोन्नति कार्य अगाडि बढेसँगै सडक ब्यवस्थित बन्न थालेको हो ।
सडक स्तरोन्नती हुन लागेसँगै कालिञ्चोक आवगमनमा सहज हुन थालेको भीमेश्वर नगरपालिका वडा नम्बर एकको देउराली बजारका नारायण शिवाकोटीले बताउनु भयो । बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयको लगानीमा कालिञ्चोक मन्दिर पुग्ने मार्गको स्तरोन्नति भइरहेको छ । पूर्वाधार विकास कार्यालयले चरिकोटदेखि सिमपानी लेख टोल हुँदै देउराली बजारसम्मको सडक कालोपत्रेका लागि ठेक्का लगाएर धमाधम काम गरिरहेको छ । देउरालीबाट ओडारेसम्म आंशिकरुपमा ढलान र कालोपत्रेको काम भइरहेको छ ।
कार्यालयले दुईवटा छुट्टाछुट्टै प्याकेज बनाएर व्यवस्थित सडक निर्माण समयमै सम्पन्न गर्न लागिरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार चरिकोटदेखि लेखटोल हुँदै देउरालीसम्म पुग्ने सडकमा कालोपत्रे गर्न पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ ।
कार्यालयले देउराली कुरी खण्डको पाँच किलोमिटर सडकमा नाला निर्माण, टेवा पर्खाल, ढलान र कालोपत्रे गर्ने काम गरिरहेको छ । सडक निर्माणको जिम्मा पाएको याक्थुम्हाङ, दाप्चा, सिमपानी जेभिका प्रमुख राजु केसीले गत वर्षको हिमपात, बीचमा क्रसर बन्दजस्ता समस्याका कारण काममा केही ढिलाई भईरहेको बताउनु भयो ।
सडक निर्माण पूरा भएपछि कालिञ्चोक जाने आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई निकै सहज हुने छ । प्रमुख इन्जिनियर श्रेष्ठका अनुसार भिरालो सडकमा हिमपात हुँदा कालोपत्रे गर्दा सवारीसाधन चिप्लिने हुँदा त्यस्ता ठाउँमा ढलान गर्न लागिएको छ । सडक स्तरोन्नतिको काममा करिब २७ करोड खर्च लाग्ने छ ।

Shares

Be the first to comment on "ब्यवस्थित बन्दै चरिकोट कालिञ्चोक सडक"

Leave a comment

Your email address will not be published.


*