बैशाख २७ र २८ गते सहकारी सम्मेलन हुने

दीक्षण समाचार
चरिकोट, ३ बैशाख

दोलखामा वृहत सहकारी सम्मेलन हुने भएको छ । बैशाख २७ र २८ गते वृहत सहकारी सम्मेलन हुने दोलखा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिए ।
जिल्ला सहकारी संघ र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा सहकारी सम्मेलन हुन लागेको हो । दोलखामा सहकारी अभियान राम्रो भएकाले पनि त्यसलाई थप विकास गर्न वृहत सम्मेलन गर्न लागेको हो । दोलखाका ५२३ वटा विभिन्न उद्देश्यका सहकारी संस्थामा ६ अर्बभन्दा बढी सम्पत्ति पुगेको छ भने डेढ लाख बढी सेयर सदस्यहरु रहेका छन् ।
वृहत सहकारी सम्मेलनका लागि जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई संयोजक र दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष जिवसराज खड्का सहसंयोजक रहेको एक मूल आयोजक समिति बनेको छ । सम्मेलन तयारीका लागि ५ सदस्य सचिवालय समिति, ९ सदस्य आर्थिक व्यवस्थापन, ९ सदस्य व्यवस्थापन, प्रतिवेदन, कार्यपत्र तयारी र सञ्चालनका लागि ५ सदस्य र प्रचारप्रसार, प्रकाशनका लागि अर्को ५ सदस्य उपसमिति बनाएको छ ।
सम्मेलनमा प्रारम्भिक सहकारी संस्थाका २३८, संघका, जनप्रतिनिधिहरु सहित ३ सय ५० बढीको सहभागीता हुने अध्यक्ष चौलागाईले जानकारी दिए । “सहकारी अभियानको कार्यदिशा, आर्थिक रुपान्तरणका लागि उद्यमशिलता” भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा उद्यामशिलता, सहकारी अभियान र विकास, सहकारी कर्मचारी लगायतका विभिन्न विषयमा ५ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । कार्यपत्र तयारी र प्रस्तुतीका लागि राष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त विज्ञहरुलाई अनुरोध गरिएको उनले बताए ।
सहकारी सम्मेलनले आर्थिक विकासमा सहकारीहरुलाई अझ प्रभावकारी भूमिका खेल्न सक्ने बनाउने सम्मेलन मूल आयोजक समितिका सह संयोजक जिवसराज खड्काले बताए । सम्मेलनमा प्रारम्भिक सहकारी संस्थाका तर्फबाट अध्यक्ष, व्यवस्थापक सहित ३ जनासम्म सहभागी हुने पाउने व्यवस्था छ । सम्मेलनका लागि खर्च व्यवस्थापन प्रारम्भिक सहकारी, स्थानीय तह र सहयोगीहरुबाट संकलन गर्ने योजना रहेको उनले जानकारी दिए ।

Shares

Be the first to comment on "बैशाख २७ र २८ गते सहकारी सम्मेलन हुने"

Leave a comment

Your email address will not be published.


*