बैंकहरुले सार्वजनिक गर्न थाले नयाँ ब्याजदर, घट्ने सम्भावना न्यून

काठमाडौं–तरलता (लगानी योग्य रकम) अभाव देखाउँदै उच्च ब्याजदर दिएर निक्षेप तान्ने होडबाजीमा उत्रेका बैंकहरुले आर्थिक वर्षको पहिलो त्रैमाशिक सकिनै लाग्दा पनि व्याजदर घटाउन सकिरहेका छैनन् ।

बचतमा ७ प्रतिशत र मुद्दती निक्षेपमा ११ प्रतिशत भन्दा माथि नजाने सहमति गरेका वाणिज्य बैंकहरुमा भर्खरै मात्र ब्याजदर सार्वजनिक गरिरहेका केही बैंकको ब्याजदर हेर्दा ब्याजदर अपेक्षित रुपमा घट्न सक्ने सम्भावना न्यून देखिन्छ ।

बुधबार (असोज १७ गते) मात्र नयाँ व्याजदर सार्वजनिक गरेको माछापुछ्रे बैंकले साधारण बचतमा ७ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ भने एक बर्षे मुद्दती निक्षेपमा साढे १० प्रतिशत ब्याजदरको अफर गरेको छ ।

आज (आसोज १८) मात्र नयाँ ब्याजदर सार्वजनिक गरेको मेगा बैंकको पनि बचतमा ७ प्रतिशत र निक्षेपमा साढे १० प्रतिशत नै छ । निक्षेपको ब्याजदर बढी हुँदा निक्षेपकर्तालाई फाइदाको हुने भएपनि त्यहि निक्षेपकर्ताबाट महंगोमा निक्षेप उठाएका बैंकहरुले ऋण त्यो भन्दा अझै महंगोमा दिने भएकाले ऋणीहरु मारमा पर्ने गर्छन् । यसकारण पनि निक्षेपको ब्याजदरमा आम ऋणीहरुको चासो हुने गरेको छ ।

यता सिभिल बैंकले पनि आजै मात्र नयाँ ब्याजदर अपडेट गरेको छ । नयाँ अपडेट अनुसार निक्षेपको ब्याजदर घटेको छैन । यसले पनि मुद्दती निक्षेपमा साढे १० प्रतिशतनै अफर गरेको छ । बचतमा ७ प्रतिशत छ ।

यस्तै असोज सात गतेबाट नयाँ ब्याजदर सार्वजनिक गरेको एभरेष्ट बैंकको भने एक बर्षे मुद्दतीमा अरु बैंकको भन्दा तुलनात्मक रुपमा कम छ । यसले एक वर्षे मुद्दतीमा ९ प्रतिशत ब्याजदरको अफर गरेको हो ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले एक कार्यक्रममा असोजदेखि ब्याजदर घट्न शुरु गर्ने उल्लेख गरेका थिए । सोही कार्यक्रममा गर्भनर डा. चिरञ्जीवि नेपालले बैंकहरुको तरलता अवस्था  सहज हुँदै गएकाले ब्याजदर घटाउन तर्फ लाग्नुपर्ने भनेपछि ढुंगानाले असोजदेखि ब्याजदर घट्न शुरु हुने अभिव्यक्ति दिएका थिए ।  यद्यपि, अहिले पहिलो त्रैमास सकिनै लाग्दाको अवस्थामा पनि बैंकहरुले सार्वजनिक गरेको ब्याजदरले अपेक्षित रुपमा घट्न सक्ने अवस्था देखाउँदैन ।

अधिकांश नयाँ ब्याजदर सार्वजनिक गरेका विकास बैंकको साधारण बचतमा ८ प्रतिशत र मुद्दती निक्षेपमा साढे ११ प्रतिशतसम्म रहेको छ  ।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बजार टाइट जस्तो देखिएकाले अब ब्याजदर बढ्न सक्ने बताउँछन् । कुनै समय ब्याजदरमा थोरै तलमाथि भएपनि दीर्घकालिन रुपमा अझै एक डेढ वर्ष यस्तै रहने उनको तर्क छ ।

निक्षेप संकलन भन्दा ऋण लगानीमा आक्रामक बनेका बैंकहरुका कारण निम्तिएको भनिएको तरलता अभाव फेरि बढ्न सक्ने आँकलन बैंकरहरु आफैँले गर्न थालेका  छन् । बैंकहरुले अझैपनि निक्षेपभन्दा कर्जा लगानी बढी गर्न छोडेका छैनन । साउन यता २८ वटा बाणिज्य बैंकले  ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ९७ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

Shares

Be the first to comment on "बैंकहरुले सार्वजनिक गर्न थाले नयाँ ब्याजदर, घट्ने सम्भावना न्यून"

Leave a comment

Your email address will not be published.


*