बेदिङमा विद्युत सेवा अवरुद्ध

राजकुमार भुजेल
चरिकोट, साउन ६
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ९ स्थित दुर्गम गाउँ बेदिङमा विद्युत सेवा अवरुद्ध भएको छ । राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै जेठ अन्तिम सातादेखि यहाँको ८२ वटा घरमा नियमित बिजुली बत्ति बल्न थालेपछि टुकी बत्ति विस्थापन गरिएको थियो । तर अहिले विद्युत प्रवाह अवरुद्ध भएपछि पुनः टुकी बत्तिकै सहारा लिनुपरेको स्थानीयले बताएका छन् । ‘सगरमाथा आरोहीको गाउँ’ ले परिचित दुर्गम क्षेत्रमा अवस्थित बेदिङ गाउँमा बिजुली बलेपछि गाउँसँगै खुशीले सबैको मुहार उज्यालो भएको थियो । तर दुई महिना नबित्दै विद्युत अवरुद्ध भएपछि स्थानीयहरु चिन्तित बनेको वडाध्यक्ष ङिम्गेली शेर्पाले बताउनुभयो । ‘गाउँमा १२ दिन देखि विद्युत सेवा अवरुद्ध भएको हो ।’ वडाध्यक्ष शेर्पाले भन्नुभयो ‘विभिन्न स्थानमा रुख ढलेर तार चुडिँदा विद्युत सेवा अवरुद्ध भएको पाइएको छ । पुनः विद्युत सुचारु गराउन विद्युत प्राधिरणलाई अनुरोध गरिएको छ ।’ नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले दुई दिन अघि विद्युत अवरुद्ध भएको जानकारी आएकोले केन्द्रको ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रका प्रमुख मेघनाथ ढकालले चुँडिएको तार जोडेर केही दिनपछि पुनः नियमित बिजुली आपूर्ति हुने बताउनुभयो । ‘रुख ढलेर विद्युत सेवा अवरुद्ध भएको जानकारी आएको छ । तर उक्त क्षेत्रमा पुग्नै दुइदिन लाग्छ ।’ उहाँले भन्नुभयो ‘हाम्रो प्राविधिकहरु शनिबार त्यस तर्फ जाने छन् । कसरी विद्युत अवरुद्ध भएको हो । त्यसको पहिचान गरी नियमित विद्युत प्रवाह गर्नका लागि मर्मत सम्भार गर्नेछन् ।’ च्छोरोप्ला प्रवेशद्धार बेदिङ सडक सञ्जालले नछोएकोले निकै कठिन र चुनौतीका साथ विद्युतीय सामाग्री मानिसले बोकेर लगी विद्युत विस्तार गरिएको थियो । तीन करोड खर्चेर विद्युतीकरण गरिएको उक्त क्षेत्रमा करिब तीन सय ५० पोल गाडिएको छ ।

Shares

Be the first to comment on "बेदिङमा विद्युत सेवा अवरुद्ध"

Leave a comment

Your email address will not be published.


*