बृद्ध अबस्थामा पनि बल बहादुर आय आर्जनमा

ईश्वर बिश्वकर्मा चरिकोट,–मानिस शिशु, बालक, किशोर र युवावस्था पार गर्दै वृद्धावस्थामा पुग्दछ । वृद्धावस्थामा मानिस मानसिक तथा शारीरिक रुपमा कमजोर बन्दछ । यो समयमा परिवारको साथमा रमाउँदै आराम गर्ने समयको रुपमा पनि लिईन्छ । तर समाजमा यस्ता पनि मानिस हुन्छन्, जो परिवारको साथ रही वृद्धावस्थामा समेत आफूलाई कुनै न कुनै काममा सक्रिय बनाइरहन्छन् । अनि वृद्धको मात्र होइन, युवाको लागि पनि अनुकरणीय र उदाहरणीय व्यक्तिको रुपमा परिचित हुन्छन् । हो, दोलखामा वृद्धावस्थामा पनि कुनै न कुनै काममा सक्रिय हुने धेरै मानिस छन्, ति मध्येका एक उदाहरणीय व्यक्तित्वको रुपमा स्थापित हुन थालेका छन्, जिल्लाको उत्तरी क्षेत्र विगु गाउँपालिका वडा नं. ६ स्थित आलम्पुका ७० वर्षिय बल बहादुर थामी । उनी केहि बर्ष यता सदरमुकाम चरिकोट स्थित शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय नजिकै आफ्नै घरमा परिवारको साथमा बस्दै आएका छन् । उनलाई परिवारबाट हेरचाह र मायामा कुनै कमी गरेका छैनन्। परिवारले आराम गरेर बस्न सुझाउछन्, तर उनी आफुलाई काममा सक्रिय बनाइरहन्छन् । मानव जीवनलाई सक्रिय बनाएमा स्वस्थ हुन सकिने विश्वास गर्ने बल बहादुरले गाउँमा सिकेको सीप अहिले सदुपयोगमा ल्याई स्थानीयस्तरमा नै उपलब्ध हुने निगालो र बाँसबाट विकास निर्माण र कृषिका निमित्त आवश्यक सामग्री बनाइरहेका छन्। परिवारको सहायतामा जिलू, दोलखा, सर्हपा लगायतका स्थानबाट न्युनतम शूल्कमा निगालो र बाँस ल्याउँछन्, अनि चोया बनाएर डोको, थुन्से, भकारी, चित्रा लगायतका सामग्री तयार गर्दछन् । गफ गरी समय व्यतीत गर्नुभन्दा काम गर्नुपर्ने सोचाई राख्ने बल बहादुरले दिनमा २ देखि ३ वटा सम्म डोका र थुन्से तयार पार्दछन् । तयार गरिएका सामाग्रीहरु धेरैजसो घरैबाट बिक्री हुन्छ, भने कहिलेकाहीँ कृषि बजार र अन्य स्थानमा समेत लगेर बिक्री गर्ने गरिएको उनले बताए । उनि भन्छन् “ तरुण उमेरमा हरेक काम गरियो । तर अहिले बुढेसकालमा बढी बल प्रयोग हुने काम गर्न सम्भव छैन् । विकल्पमा पहिले सिकेको सीप सदुपयोग गर्दैछु ।“ उनि प्रेसर रोग पीडित हुन्, तर आत्मबल बलियो पारेर डोकोथुन्से बुन्छन् । बेच्छन्, र केहि रकम आयआर्जन गर्छन्। सकेसम्म यहि काम गरिरहने प्रण गरेका छन् उनले । स्थानीय सरकारले यो सीप र पेशाको संरक्षण, संवद्र्धन गरी उत्पादित सामग्रीको बजारीकरणमा ध्यान दिनुपर्ने उनको माग रहेको छ ।

Shares

Be the first to comment on "बृद्ध अबस्थामा पनि बल बहादुर आय आर्जनमा"

Leave a comment

Your email address will not be published.


*