बृद्धावस्थामा अम्बा बेचेर आयआर्जन

इश्वर बिश्वकर्मा
चरिकोट, मंसिर २
विगत झैँ यो वर्ष पनि बारीमा लटरम्म अम्बा फलेर पाकेको छ । फलफूल मध्येमा फरक स्वाद र औषधिय गुणयुक्त अम्बाको मगमग बास्नाले अचेल बारी वरीपरीको वातावरण नै सुगन्धित बनेको छ । अम्बा फलेपछि आफ्नो लागि पैसा फलेको ठान्ने भीमेश्वर नगरपालिका वडा नम्बर ७ उखुबारीका ७७ वर्षिया सिता थापाको आजभोलीको दैनिकी अम्बा टिप्ने र बेच्नको लागि डोकोमा बोकेर बजार डुल्ने बन्न पुगेको छ । उहाँको  बारीमा १६ वटा अम्बाको रुख रहेको छ । ती सबै रुखमा असोजदेखि अम्बा फलेर पाक्न थालेको हो । पाकेको अम्बा उहाँले आफन्तको सहयोगमा टिपेर चरिकोट बजार बेच्नको लागि डुल्नुहुन्छ । यसरी डुल्न थालेको २०–२५ दिनमा (बुधबारसम्म) उहाँले १२ हजार रुपैयाँ कमाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
रुखमा अम्बा बाँकी नै रहेकोले बेचेर अझै दश हजार बढी कमाउने चाहना रहेको उहाँ सुनाउनुहुन्छ । उहाँले भन्नुभयो “ लागत, मिहिनेत कम लाग्ने र उत्पादन पनि राम्रो हुने देखेर धेरै वर्षअघि अम्बाको बिरुवा ल्याएर रोपेको थिएँ । अहिले वर्षेनी फल दिन्छ ।”


अम्बा बेचेर १२ हजार कमाएर खुशी हुनुभएको सितालाई पछिल्लो समय एउटा चिन्ताले पिरोलिरहेको छ । उत्पादित अम्बाले सोचेजस्तो बजार नपाउने स्थिति बढ्न थालेपछि उहाँलाई चिन्तित बनाएको हो । भारतबाट आयातित केमिकल मिसाइएको फलफूलले जिल्लाको बजार ढाकेपछि स्थानीय स्तरमा उत्पादित फलफूलले बजार पाउन सकस परेको बताउनुहुँदै उहाँले भन्नुभयो “१२ हजार त निकै सास्ती गरेर कमाएको पैसा हो । पाकेको अम्बा बजारसम्म पु¥याउन बसले अटेरी गर्छ । बस रोक्नै मान्दैन् । डोकोमैँ बोकेर ल्याएको अम्बा बजारभरी डुलाउँदा पनि सजिलै बिक्री हुदैन ।”
अम्बामा औषधिय गुण हुनुको साथै मानिसको स्वास्थ्यमा फाईदा पु¥याउने प्रसस्तै तत्वहरु पाइन्छ । तर यस्तो महत्वको फललाई वेवास्ता गरी विदेशबाट ल्याइएको फललाई प्राथमिकता दिइएपछि उहाँको चित्त दुखेको हो । “अम्बा खाँदा स्वादिलो र मिठो हुनुको साथै स्वास्थ्यलाई अत्यन्तै फाइदा दिन्छ । तरपनि पछिल्लो समय अम्बालाई वेवास्ता गर्नेहरु बढ्दै गएको जस्तो लाग्न थालेको छ । महत्व बुझेकोले मैँले अहिलेसम्म अम्बाको रुख नमासेको हो ।” उखुबारी सडक सञ्जालले जोडिएको गाउँ भएकोले गाडी लिएर अम्बा किन्न आउनेलाई सस्तो दाममा दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “ केही दिन यता रुखबाटै अम्बा चोरी हुन थालेको छ । त्यसैले पनि भटाभट टिपेर बेचिदिने सोचमा पुगेको छु ।”

Shares

Be the first to comment on "बृद्धावस्थामा अम्बा बेचेर आयआर्जन"

Leave a comment

Your email address will not be published.


*