बुद्धिमान हत्याको १७ वर्ष पुरा, शान्तीको प्रचण्डलाई प्रश्न, ‘हत्यामा संलग्नलाई कारबाही हुन्छ कि हुँदैन ?’

चरिकोट–द्धन्द्धकालमा हत्या गरिएका तत्कालिन नेकपा एमालेका नेता बुद्धिमान पाख्रिनको १७ ओं स्मृति सभा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय र दोलखास्थित जिल्ला पार्टी कार्यालयमा स्मृति कार्यक्रमहरु सम्पन्न भएका छन् ।
केन्द्रिय कार्यालयमा भएको कार्यक्रमलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमूख अतिथिका रुपमा सम्बोधन गरेका थिए । कार्यक्रममा बुद्धिमान पाख्रिनकी श्रीमती शान्ती पाख्रिनले बुद्धिमान पाख्रिैनलाई बर्बर तरिकाले हत्या गरिएको बताउँदै सो काण्डमा दोषिहरुलाई कारबाही कहिले हुन्छ भन्ने प्रश्न प्रचण्डसामु राखेकी थिइन । ‘बुद्धिमानकाबारेमा सुनाउन चाहेको नै तपाँइ (प्रचण्ड)लाई हो । तपाँई हाम्रो मात्र हैन बुद्धिमान पाख्रिनको पनि अध्यक्ष हो । सत्यनिरुपण आयोगमा नियुक्त गरिएका मानिसले न्याय दिन सक्छन ?’ शान्ति पाख्रिनले प्रश्न गरिन ।
पाख्रिनले उक्त घटनाबारेमा अगाडी थपिन, ‘घरैबाट अपहरण गरेर लगिएको थियो । २०५९ मंसिर ९ मा अपहरण गरियो । १५ गते मारियो, १७ गते हामीले उहाँको लाश भेट्यौं । अनेक यातना दिएर निर्ममतापूर्वक हत्या गरिएको थियो । म डेढ महिनाको गर्भवती थिएँ । अहिले छोरी ११ कक्षामा पढ्दै छ । हिजो मेरो घरबाट अपहरण  गरेर लैजाने व्यक्ति र म एउटै कमिटिमा छौं । मेरो  छोरीले घटना थाहा पाएको २ वर्षमात्रै भयो । हामीले न्याय पाउँछौ कि पाउँदैनौ ? मर्ने त मरेर गए तर हामी पटक पटक मरेर बाँच्नुपरेको छ ।’ कार्यक्रममा बोल्दै प्रचण्डले द्धन्द्धकालिन अवस्थामा भएका गम्भिर घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याइने बताए । उनले भने ‘शान्तीजीलाई म के भन्न चाहन्छु भने म आफैं दोषी ठहरिएँ भने पनि कारवाही भोग्न तयार छु । शान्ती सम्झौतामा हस्ताक्षर गर्ने साथीहरुले त्यसो नगरौं भन्दै थिए । तर मैले नै त्यो मानिन । जेसुकै होस विर्सौ भन्ने पक्षमा हामी रहेनौं ।’तत्कालिन नेकपा एमालेको तर्फबाट २०५४ को स्थानीय निकाय निर्वाचनमा ठूलोपातल गाविसको अध्यक्ष भएका वुद्धिमान पाख्रिनलाई तत्कालिन नेकपा माओवादीका कार्यकर्ताले अपहरणपश्चात हत्या  गरेका थिए । पाख्रिनलाई सुराकीको आरोपमा हत्या गरिएको थियो ।दोलखामा भएको कार्यक्रममा नेकपा दोलखा अध्यक्ष इश्वरचन्द्र पोखरेल र सचिव गोपाल पाण्डेले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै पोखरेलले सबै सहिदहरुको सम्मानमा एक दिन तोकेर कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

Shares

Be the first to comment on "बुद्धिमान हत्याको १७ वर्ष पुरा, शान्तीको प्रचण्डलाई प्रश्न, ‘हत्यामा संलग्नलाई कारबाही हुन्छ कि हुँदैन ?’"

Leave a comment

Your email address will not be published.


*