बागमती प्रदेश गौरवको आयोजना जिरी तालको काम अघि बढ्यो

नवराज शिवाकोटी, चरिकोट ः बागमती प्रदेश गौरवको आयोजना जिरी ताल निर्माणको काम अघि बढेको छ । मानव निर्मित कृतिम ताल निर्माण गर्न जग्गा अधिग्रहणका लागि लगत संकलन कार्य अन्तिम चरणमा पुगेसँगै ताल निर्माणको काम अघि बढेको हो ।
प्रदेश गौरवको आयोजना जिरी ताल निर्माणकालागि आवश्यक जग्गाको लगत संकलन गर्ने कार्य अन्तिम चरणमा पुगको डिभिज सिंचाई कार्यालय दोलखाका प्रमुख निर्मल दहालले जानकारी दिनुभयो । जिल्ला नापी कार्यालय तथा मालपोत कार्यालयबाट आयोजनाको क्षेत्र भित्र पर्ने करिब सात सय रोपनी जग्गाको लगत लिई अध्ययनको काम भइरहेको उहाँको भनाई छ । अध्ययन समाप्त भएपछि आवश्यक जग्गा अधिग्रहणको लागि सिफारिस गरिने उहाँले बताउनु भयो ।
तालको डिपिआर जिरी नगरपालिकाले तयार गरिसकेको छ । यसमा केही परिमार्जन आवश्यक रहेको डिभिजन सिँचाई कार्यालय दोलखाले बताएको छ । कृतिम तालको वातावरणीय प्रभाव मूल्यांकनका लागि परामर्श दाताको छनोटको लागि प्रस्ताबरुको मूल्यांकन भइरहेको कार्यालयले जनाएको छ ।
एक किलोमिटर लामो तथा दुई सय मिटर चौडाईको हुने सो ताल निर्माणको लागि डुवान हुने क्षेत्र भित्र पर्ने १५१ कित्ता तथा ताल वरीपरी आवश्यक पूर्वाधार निर्माण तथा अन्य प्रयोजनकालागि ३३९ कित्ता अधिग्रहण गर्नु पर्ने डिभिजन सिंचाई कार्यालयका प्रशासन प्रमुख शारदप्रसाद दंगालले जानकारी दिनुभयो । भारतको प्रसिद्ध पर्यटकीय स्थल नैनीतालकै आकारमा तालको निर्माण हुने भएकोले यो ताल निक्कै आकर्षक र पर्यटकीय महत्वको दृष्टीले महत्वपूर्ण हुने उहाँको भनाइ रहेको छ । डिपिआर अनुसार ताल निर्माणको लागत ३ अर्ब १७ करोड रहेको छ ।
सगरमाथाको द्वार तथा नेपालको स्वीजरलेन्ड नामले चर्चित दोलखाको पर्यटकीय नगर जिरी अहिले सुस्ताएको अवस्थामा जिरीलाई पुरानै लयमा फर्काउनकोलागि जिरी नगपालिकाले एक करोड भन्दा बढी खर्च गरी कृतिम तालको डिपीआर तयार गरेकोले स्थानीय सरकारको चाहना ताल निर्माण सिघ्र सुरु होस भन्ने रहेको जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेलले बताउनु भयो । ताल निर्माणकालागि जस्तो सुकै सहयोग गर्न पनि जिरी नगरपालिका तयार रहेको मेयर जिरेलको भनाई छ । जिरी वासिको लामोसमय देखिको ताल निर्माणको सपनालाई बाग्मती प्रदेश सरकारले प्रदेश गौरवको आयोजना घोषणा गरी अगाडि बढाएकोमा जिरीवासीको सपना पूरा हुने दिन आउन लागेको आफूलाई विश्वास लागेको उहाँले बताउनु भयो ।
जिरीमा मानव निर्मित कृतिम ताल निर्माण भएमा जिरीको महत्व बढ्ने मात्र नभई समग्र दोलखाको आर्थिक क्रियाकलापमा बृद्धि हुने जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो । जग्गाको मुआवजा निर्धारण गर्दा भने स्थानीयहरुलाई मर्कानपर्ने गरी गर्नु पर्ने उहाँले बताउनु भयो । यसैगरीै जिरी ताल निर्माणकालागि जिरी नगरवासीहरु सहयोग गर्न तयार रहेको तथा ताल निर्माणको काम छिटो भन्छा छिटो सुरु होस भन्ने स्थानीयहरुको चहना रहेको जिरीका नागरिक अगुवा केन्द्रज्योति खड्रकाले बताउनु भयो ।
जिरी कृत्रिम ताल निर्माणको लागि कामको सुरुवात गर्नका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Shares

Be the first to comment on "बागमती प्रदेश गौरवको आयोजना जिरी तालको काम अघि बढ्यो"

Leave a comment

Your email address will not be published.


*